काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडको चालु आर्थिक वर्ष २०७७/७८ को प्रथम त्रैमासमा ३३ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

बैंकको सोमबार सार्वजनिक प्रथम त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद नाफा गत वर्षको यही अवधिको तुलनामा ५१.५४ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा बैंकले ६९ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा बैंकले १३ करोड ५९ लाख रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको छ।

समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा पनि ५१.५४ प्रतिशतले घटेर ४७ करोड ८२ लाख रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिमा यस्तो मुनाफा ९८ करोड ६९ लाख रुपैयाँ रहेको थियो। 

प्रथम त्रैमासमा बैंकले खुद ब्याज आम्दानीबापत १ अर्ब २ करोड रुपैयाँ आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिमा १ अर्ब ४३ करोड रुपैयाँ थियो।

बैंकले समीक्षा अवधिमा १ खर्ब ५६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष यही अवधिमा १ खर्ब ४३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

बैंकले रिजर्भको आकार ०.२० प्रतिशतले घटेर ८ अर्ब ७ करोड रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिसम्म रिजर्भको आकार ८ अर्ब ९ करोड रुपैयाँको थियो।

बैंकको खराब कर्जाको दर (एनपीएल) बढेर ०.२२ प्रतिशत पुगेको छ। गत वर्ष यही अवधिमा बैंकको खराब कर्जाको दर ०.१७ प्रतिशत रहेको थियो। 

बैंकको आधार दर घटेर ७.०७ प्रतिशतमा झरेको छ। जब कि गत वर्ष बैंकको आधार दर ८.५२ प्रतिशत रहेको थियो। 

वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) पनि ५१.५४ प्रतिशतले ओरालो लागेर १५.७३ रुपैयाँमा झरेको छ। गत वर्ष बैंकको ईपीएस ३२.४७ रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा बैंकको मूल्य आम्दानी अनुपात (पीई रेसियो) ४५.१९ गुणा रहेको छ। प्रतिसेयर नेटवर्थ २२२.७४ रुपैयाँ रहेको छ।