काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले २ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। 

बैंकले ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र, २०८६’ निष्कासन गर्ने भएको हो। बैंक १ हजार रुपैयाँ अंकित दरका कुल २० इकाइ भएको ऋणपत्र निष्कासन गर्नेछ। यो ऋणपत्रको अवधि ८ वर्षको हुनेछ। लगानीकर्ताहरुले यस ऋणपत्रबाट वार्षिक ८.५ प्रतिशत ब्याज पाउनेछन्। 

यसैबीच बैंकले यो ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।यससम्बन्धी सम्झौतामा एभरेस्ट बंैकका तर्फबाट कम्पनी सचिव सुरेश चापागाईं र एनआईबिएल एस क्यापिटलका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापा र सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले आज एक कार्यक्रमबीच हस्ताक्षर गरेका छन्। 

काठमाण्डौको लाजिम्पाटस्थित रजिस्टर्ड कार्यालय रहेको एभरेष्ट बैंक प्रचलित कम्पनी कानुनबमोजिम २०४९ मंसिर १ गते नेपाल सरकार, वाणिज्य विभागमा पब्लिक लिमिटेडका रुपमा दर्ता भएको कम्पनी हो । यसका साथै २०५१ असोज ११ गते नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न स्वीकृति प्राप्त गरी कम्पनीले २०५१ कात्तिक १ गतेदेखि आफ्नो वित्तीय कारोबार सञ्चालन गर्दै आएको छ।

बैंकले हाल आफ्ना आफ्नो १०३ वटा शाखा कार्यालय र ३ वटा एक्सटेन्सनकाउन्टर मार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गरिरहेको छ ।