काठमाण्डौ । एभरेष्ट बैंकले यही साउन १८ गतेबाट २ अर्ब रुपैयाँबराबरको ऋणपत्र बिक्री खुला गर्ने भएको छ। 

बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २० लाख इकाइ भएको ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र-२०८५’ नामक ऋणपत्र बिक्री खुला गर्ने भएको हो। बैंकले कुल इकाइमध्ये १२ लाख इकाइ ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्नेछ। बाँकी ८ लाख इकाइ भने सर्वसाधारणका लागि बिक्री खुला गरिनेछ। जसमा ५ प्रतिशतले हुन आउने ४० लाख इकाइ सामूहिक लागानी कोषका लागि छुट्याइएको छ। बाँकी ७ लाख ६० हजार इकाइमा सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन्। 

लगानीकर्ताले यो ऋणपत्रमा न्यूनतम २५ इकाइदेखि अधिकतममा १ लाख इकाइसम्म खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डको इजाजतपत्र प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। सीडीएससीको मेरो सेयरबाट पनि अनलाइन आवेदन दिन सकिनेछ। 

यो ऋणपत्रमा छिटोमा साउन २२ गते सम्म आवेदन दिन सकिनेछ। यो अवधिमा मागबमोजिम आवेदन नपरेमा  भदौ १ गतेसम्म आवेदन दिन पाइनेछ। 

बैंकको यो ६ वर्षे अवधिको ऋणपत्र हो। यसमा लगानीकर्ताले वार्षिक १०.५० प्रतिशत ब्याज पाउनेछन्।