काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडका ग्राहकले एभरेष्ट बैंकको मोबाइल एपमार्फत फोनपको क्यूआरबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म अथवा बढीमा १०० रुपैयाँसम्म छुट पाउने भएका छन्।

नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे र एभरेष्ट बैंकका बीचमा ग्राहकलाई यस किसिमको सुविधा प्रदान गर्ने सम्झौता भएको हो। सम्झौतापत्रमा एभरेष्ट बैंकका डिजिटल बैंकिङ प्रमुख शंकर पोखरेल र फोनपेका तर्फबाट बिजनेस डेभलपमेन्ट अफिसर लक्ष्मण महर्जनले हस्ताक्षर गरेका छन्। 

यो योजना असोज ७ गतेदेखि १४ गतेसम्म र कात्तिक २ गतेदेखि ६ गतेसम्म सञ्चालन हुनेछ। नेपालीहरुको महान चाड दसैँमा किनमेल गर्न केही सुलभ होस् भन्ने उद्देश्यले यो योजना ल्याइएको हो। फोनपेले आफ्ना मर्चेन्ट तथा प्रयोगकर्तालाई लक्षित गर्दै विभिन्न योजना सञ्चालन गर्दै आइरहेको छ। 

यसैबीच फोनपेले नेपालीहरुको महान चाड दसैँलाई लक्षित गर्दै ‘चाडवाडमा जीवन सहज बनाऔँ, नगद छाडौँ, फोनपे गरौँ’ योजना सुरु गरेको छ। यस योजनाअन्तर्गत हरेक दिन फोनपे क्यूआर गर्ने, फोनपे डाइरेक्ट गर्ने र अनलाइन भुक्तानी गर्नेमध्ये एकजना ग्राहकले दैनिक नगद रु. १ लाख जित्न सकिनेछ। 

यसैगरी क्यूआरमार्फत भुक्तानी लिने मर्चेन्टले दैनिक सामसुङको फोन जित्न सकिनेछ। ग्राहकका लागि यो योजना असोज ४ गतेदेखि असोज १३ गतेसम्म लागू हुनेछ भने मर्चेन्टहरुले कात्तिक १२ गतेसम्म हरेक दिन मोबाइल जित्न सकिनेछ। 

फोनपे नेटवर्कमा आबद्ध कुनै पनि बैंक तथा वित्तीय संस्था तथा विभिन्न भुक्तानी सेवा प्रदायकका मोबाइल एपबाट सहजै क्यूआरमार्फत भुक्तानी गर्न सकिन्छ। फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था र भुक्तानी प्रणाली सञ्चालक आबद्ध छन्। 

यस्तै फोनपेमा हालसम्म करिब १० लाख मर्चेन्ट रहेका छन्। १ करोड ५० लाखभन्दा धेरै मोबाइल बैंकिङ प्रयोगकर्ता तथा भुक्तानी प्रणाली सेवा प्रदायकका मोबाइल एपमार्फत फोनपेले सेवा पुर्याउँदै आएको छ। 

सन् १९९४ बाट सञ्चालनमा आएको एभरेष्ट बैंक नेपाल राष्ट्र बैंकले ‘क’ वर्गमा वर्गीकरण गरेको वाणिज्य बैंक हो। देशभर ३९ हजार १६७ डेलिभरी च्यानल, १० हजार ९८ आन्तरिक शाखा भएको एभरेष्ट बैंकसँग १५ हजार ७१९ व्यापारिक घराना आबद्ध रहेका छन्। यसका साथै बैंकका २ अन्तर्राष्ट्रिय शाखा र देशभर १३ हजार ३५० एटीएम बुथ रहेका छन्।