काठमाण्डौ । वित्तीय सूचकहरुमा आकर्षक छलाङ मार्दै एभरेस्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०७५/७६ का लागि २६.९८ प्रतिशतसम्म लाभांश वितरण गर्ने क्षमता बनाएको छ । 

चौथो त्रैमासको वित्तीय विवरणअनुसार बैंकले आर्थिक वर्ष २०७५/७६ मा २ अर्ब १८ करोड रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको हो । समीक्षा अवधिमा बैंकले ३ अर्ब ४ करोड खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा खुद नाफा बैंकले १७.९८ प्रतिशतले बढाएको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले २ अर्ब ५८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

समीक्षा अवधिमा बैंकले खुद ब्याज आम्दानी ५ अर्ब ६३ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ । जुन अघिल्लो वर्ष ४ अर्ब ८६ करोड रुपैयाँमा सीमित थियो । यसले बैंले व्यवसाय विस्तारमा पनि आक्रामक गति लिएको देखाउँछ । 

बैंकको सञ्चालन मुनाफा ४ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्षको सोही अवधिमा ३ अर्ब ६८ करोड रुपैयाँमात्र रहेको थियो । अघिल्लो वर्ष ६ अर्ब ५ करोड रुपैयाँ रिजर्बको आकार बढाएर बैंकले ७ अर्ब १० करोड रुपैयाँ पुर्याएको छ । 

बैंकले रिटेन अर्निङतर्फ २५.८१ प्रतिशतले वृद्धि गरेको छ । अघिल्लो वर्ष १ अर्ब ७३ करोड रुपैयाँ रिटेन अर्निङ रहेको बैंकको समीक्षा अवधिमा २ अर्ब १८ करोड रुपैयाँ पुगेको छ ।

यस अवधिमा बैंकले १ खर्ब २९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४ अर्ब ऋण प्रवाह गरेको छ । अघिल्लो वर्ष बैंकले यही अवधिमा १ खर्ब १५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ८९ अर्ब ९२ करोड रुपैयाँ ऋण प्रवाह गरेको थियो । 

बैंकको प्रतिसेयर आम्दानी ३७.९५ रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा ०.१६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकको खराब कर्जा ०.२० प्रतिशत रहेको थियो । बैंकको खराब कर्जामा ०.४ प्रतिशतले घटेको देखाएको छ । 

बैंकको क्यापिटल एडेक्वेसी रेसियो १३.७५ प्रतिशत रहेको छ भने कस्ट अफ फन्ड ६.२१ प्रतिशत र सीडी रेसियो ७५.०७ प्रतिशत रहेको छ । 

बैंकले समीक्षा अवधिमा आफ्नो आधार दरलाई ८.१२ प्रतिशतमा सीमित गर्न सफल भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ २१८.६९ रुपैयाँ रहेको छ ।