काठमाण्डौ । एभरेस्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ६९ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।

बैंकको प्रथम त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकले अघिल्लो वर्षको तुलनामा ९.०७ प्रतिशतले खुद नाफा बढाउन सफल भएको हो । बैंकले गत वर्ष यही अवधिमा ६३ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

बैंकले समीक्षा अवधिमा वितरणयोग्य मुनाफा २ अर्ब ६३ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ ।

बैंकको समीक्षा अवधिमा सञ्चालन मुनाफा ९८ करोड ६९ लाख रुपैयाँ रहेको छ। गत वर्ष सञ्चालन मुनाफा ९० करोड ४८ लाख रुपैयाँ रहेको थियो ।

यसैगरी बैंकले प्रथम त्रैमासमा खुद ब्याज आम्दानी १ अर्ब ४३ करोड रुपैयाँ गरेको छ । गत वर्ष यही अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ३१ करोड रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा बैंकले १ खर्ब ३४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ९ रुपैयाँ अर्ब कर्जा प्रवाह गरेको छ । गत वर्ष यही अवधिमा बैंकले १ खर्ब १९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ९७ अर्ब ९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

बैंकको रिजर्भको आकार समीक्षा अवधिमा ६ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ। गत वर्ष रिजर्भको आकार ६ अर्ब २ करोड रुपैयाँ रहेको थियो ।