काठमाण्डौ । लाभांश पारित मुख्य अजेन्डासहित एभरेस्ट बैंक लिमिटेडले आफ्नो २५ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ ।

बैंकको मंसिर २३ गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आगामी पुस २३ गते काठमाण्डौको लैनचौरस्थित लैनचौर ब्यांक्वेटमा गर्ने निर्णय गरेको छ ।

सभामा गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरिएको कुल २५ प्रतिशत लाभांश छलफल गरी अनुमोदन हुनेछ । प्रस्तावित लाभांशमा ५ प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश रहेको छ ।

यसैगरी सभामा प्रबन्धपत्र तथा निमायवली संशोधनसम्बन्धी विशेष प्रस्ताव पनि पारित गर्नेछ । बैंकले ७ प्रतिशत कन्भर्टेबल प्रिफ्रेन्स सेयर जारीगरेकोमा विवरणपत्रबमोजिम सेयर साधारण सेयरमा परिणत भएपछि पूँजी वृद्धि हुने भएकोले सोहीबमोजिम संशोधन गर्ने प्रस्ताव पनि पारित हुनेछ ।

यसैबीच साधारणसभा र लाभांश प्रयोजनका लागि बैंकले पुस ४ गतेदेखि पुस २३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । लाभांश पाउन र साधारणसभामा भाग लिन योग्य हुनलाई पुस ३ गतेसम्म बैंकको सेयरधनी कायम हुनुपर्नेछ ।