काठमाण्डौ । एमजी भेइकलका लागि नेपालका एकमात्र आधिकारिक आयातकर्ता र वितरक पारामाउन्ट मोटर्स प्रालिले नेपालमा आफ्नो नयाँँ इलेक्ट्रिक भेरिएन्टको एसयूभी एमजी जेड एसयूभीका लागि प्रि–बुकिङ खुला गरेको छ। 

यो मोडलमा २८० एनएमको अधिकतम टर्क प्रदान गर्न सक्ने ९९ किलोवाटको मोटर र ५१ केडब्ल्यूएचको ब्याट्री क्षमता रहेको कम्पनीले जनाएको छ। आधा घन्टामै ८०% चार्ज हुने यसको ब्याट्रीले सिङल चार्जमै ३२० किमिको वाइड रेन्ज प्रदान गर्ने पनि कम्पनीले जानकारी दिएको छ। यस एसयूभीको ब्याट्री लाइफ भने ८ वर्षको रहेको छ।

सुरक्षाका लागि यसमा ६ वटा एयर ब्याग,  ईएसपी, ईएबी, एचडीसी, अटो होल्डजस्ता फिचरहरु राखिएका छन् भने मनोरन्जनका लागि प्रिमियम पानोरमिक सन–रुफ, डीएबी रेडियो र ब्लुटुथ युक्त १०.१ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, ड्राइभरका लागि ७ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, वायरलेस फोन चार्जिङ, की–लेस एन्ट्री र स्टार्ट, ६ वटा स्पिकरसहितको थ्रीडी साउन्ड सिस्टम, ड्राइभरका लागि ६ वे र फ्रन्ट पेसेन्जरका लागि ४वे इलेक्ट्रिकल एड्जस्टेबल लेदर पावर सिट, दुईवटा  इसोफिक्स चाइल्ड सिट एन्कोरेज पोइन्टहरु (आउटर रियर सिटहरु), ६०/४० फोल्डिङ रियर सिटहरु, रुफ रेल, पावर–फोल्डिङजस्ता फिचरहरु राखिएको कम्पनीले जनाएको छ।

दुईवटा भेरिएन्टमा उपलब्ध यस एसयूभीको कम्फर्ट भेरिएन्टको मूल्य रु.४८ लाख ४९ हजार राखिएको छ भने डिलक्स भेरिएन्टको मूल्य रु. ५२ लाख ४९ हजार राखिएको छ। वैशाखबाट उपभोक्तालाई डेलिभरी गर्न सुरु गरिने भनिएको यस एसयूभीलाई १ लाख डिपोजिट तिरेर प्रि–अर्डर अथवा बुक गर्न सकिनेछ।