काठमाण्डौ । मिलिनियम डलर राउन्ड टेबल २०२२ को वार्षिक सभामा भाग लिन रिलायन्स लाइफ इन्स्योरेन्सका लिडर रिलायन्स साथीहरु नमीता न्यौपाने एवं कमल दाहाल अमेरिकाको बोस्टनतर्फ प्रस्थान गरेका छन्। 

यसपटकको एमडीआरटी कार्यक्रममा अमेरिका जान लागेका नेपालका ३ जना अभिकर्तामध्ये २ जना अभिकर्ता रिलायन्स लाइफ इन्स्योरेन्सको रहेको कम्पनीले जनाएको छ। 

बीमा क्षेत्रमा लागेको केही वर्षमै एकपछि अर्को सफलता प्राप्त गर्दै गइरहेका अभिकर्ता लिडरद्वयलाई रिलायन्स लाइफ इन्स्योरेन्सले केन्द्रीय कार्यालयमा एक कार्यक्रम आयोजना गरी शुभकामना साथै बिदाइ गरेको छ। सो कार्यक्रममा लिडरद्वयलाई दोसल्ला ओढाइ सम्मान गनुका साथै राष्ट्रिय भावनाको प्रतीक राष्ट्रिय झन्डासमेत हस्तान्तरण गरिएको थियो। 

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राकेश पोख्रेलले समग्र देश एवं उत्कृष्ट बीमा क्षेत्रको प्रतिनिधित्व गर्दै संसारभरिका उत्कृष्ट बीमा मध्यस्थकर्ताका माझ उपस्थिति जनाउन गइरहेकोमा गर्व गर्दै सो कार्यक्रम तथा भ्रमण क्रममा सिकेका कुरालाई देशमा कार्यरत अन्य बीमामाझ प्रस्तुत गरेर बीमाक्षेत्रको विकासमा योगदान दिन लिडरद्वयलाई अनुरोध गरे। 

बीमाकर्मी नमिता न्यौपानेले आफू सदैव बिमा क्षेत्रको बिकासमा लागिरहने उल्लेख गर्दै यस्तो मौका सिर्जना हुने वातावरण प्रदान गर्न भएकोमा कम्पनीप्रति धन्यवाद जनाइन्। 

रिलायन्स लाइफका अग्रणी अभिकर्ता न्यौपाने यसअघि पनि तीनपटक एमडीआरटी तथा सीओटीका रुपमा सो कार्यक्रममा छनौट भइसकेकी छन्। अर्का अभिकर्ता कमल दाहाल दोस्रो पटक सो कार्यक्रममा छनौट भएका हुन्। 

सक्रिय सामाजिक अभियन्ता न्यौपाने तथा सहकारीकर्मीसमेत रहेका दाहाल नेपाली बीमा क्षेत्रका उत्कृष्ट अभिकर्ता तथा धेरै बीमाकमीका प्रेरणाको स्रोत रहेको कम्पनीले जनाएको छ।