काठमाण्डौ । एनआइसी एशिया बैंक लिमिटेडले लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । 
 
यस सम्झौताअनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएका २६५ वटै शाखाहरुबाट सहज रुपमा लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्ने बैंकले जनाएको छ । 
 
यस सम्बन्धी सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका का.मु.प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट कार्यवाहक प्रमुखकार्यकारी अधिकृत अभिजित घोष दस्तिदरले हस्ताक्षर गरे ।
 
एनआइसी एशिया बैंक देशमै सबैभन्दा धेरै शाखा सञ्जाल भएको र बित्तीय रुपमा बलियो बैंक हो ।
 
यो बैंकको देशभर २६५ शाखा छन् भने एटीएम संख्या २७०, एक्सटेन्स काउण्टरको संख्या ३७ पुगिसकेको छ ।१८ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने यो बैंकको वासलातको आकार रू. २१० अर्ब भन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब रू. १७१ अर्ब तथा कर्जा रू. १४२ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५० हजार रहेको छ ।