काठमाण्डौ । लाइफ  इन्स्योेरेन्स कर्पोरेसन(नेपाल) लिमीटेडको आकर्षक लाभांश प्रस्तावमा सेयरमा लगानी गर्नेहरुले धोका खाएका छन् । 

यो कम्पनीले यसअघि २०७३/७४ को मुनाफाबाट लगानीकर्तालाई ३६ प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने कर प्रयोजनका लागि १.८९ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको थियो । 

तर, एलआइसीको यो प्रस्ताव बिमा समितिले अस्वीकृत गरेपछि कम्पनी घोषित लाभांशलाई भारी मात्रामा घटाउन बाध्य भएको हो । 

बिमा समितिले यो कम्पनीलाई कात्तिक ६ गते  वित्तीय विवरणमा संसोधन गरी पुनः पेश गर्न निर्देशन दिएपछि कात्तिक १७ गते बसेको एलआइसी नेपालको संचालक समितिको बैठकले ०७३/७४ को मुनाफाबाट १२ प्रतिशत बोनस सेयर र सोमा लाग्ने कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । 

यो हिसाबले ३६ प्रतिशत बोनस सेयरको लोभमा एलआइसी नेपालको सेयरमा लगानी गर्नेहरु अन्तिम अवस्थामा आएर हिस्स भएका छन् । यो कम्पनीको बोनस २४ प्रतिशतले घटेको छ । 

प्रस्तावित नयाँ लाभांश बिमा समितिबाट स्वीकृत भएपछि र कम्पनीको वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।