काठमाण्डौ । “जीवन बीमाको साथमा, धनवृष्टि ३–३ वर्षमा” भन्ने सन्देशका साथ एल.आई.सी. नेपालले ‘धनवृष्टि’ नामक जीवन बीमा योजना बजारमा ल्याएको छ । 

नया“ वर्ष २०७६ को अवसर पारेर कम्पनीले आयोजना गरेको एक समारोहबीच उक्त ‘धनवृष्टि’ योजनाको अनावरण बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईंले गरेका हुन् ।

१३ देखि ६० वर्षसम्म उमेरका व्यक्तिहरुले यो जीवन बीमा योजना लिन सक्नेछन् । 

न्यूनतम बीमाङ्क रकम रु. १ लाख कायम गरिएको छ भने अधिकतम बीमाङ्कको सीमा बीमा अन्डरराइटिङ्ग नियमानुसार जति पनि लिन सकिन्छ।

यस योजनामा बीमा अवधि १० वा १५ वर्षको हुनेछ । १० वर्षे अवधिको बीमा लिंदा हरेक ३ वर्षमा बीमाङ्कको ३३ प्रतिशत रकम फिर्ता हुन्छ भने १५ वर्षे अवधिमा हरेक ३ वर्षमा बीमाङ्कको १५ प्रतिशत रकम फिर्ता हुँदै जान्छ। 

बीमा परिपक्वतामा अन्तिम फिर्ता हुने रकमको साथमा बीमा अवधिमा आर्जित बोनस रकम एकसाथ प्रदान गरिन्छ । यदि बीमा अवधिमा बीमितको निधन भएमा बीचमा धनफिर्ता गरिएको रकम कट्टा नगरी पूरै बीमाङ्क रकमको साथ आर्जित बोनस रकम इच्छाइएको व्यक्तिलाई प्रदान गरिन्छ ।

न्यून बीमाशुल्क कायम गरिएको यो ‘धनवृष्टि’ योजनामा अधिकतम् रु. ७५ लाखसम्मको दुर्घटना लाभ र स्थायी अशक्तता लाभ समेत उपलब्ध छन् । २ वर्षको बीमाशुल्क भुक्तानीपश्चात् बीमितले कम्पनीबाट कर्जा तथा बीमा समर्पण सुविधा समेत लिन सक्नेछन् ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत एल.पी. दासले बीमितले यस बीमा योजनामार्फत विविध क्षेत्रका पेशाकर्मी तथा व्यवसायीहरु, जसले जीवन बीमाको साथमा आफ्नो रकममा सजिलो तरलता चाहन्छन् उनीहरुको लागि ‘धनवृष्टि’ योजना अति उत्तम हुने बताए ।

कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले नया“ बीमा योजनाको बारेमा प्रकाश पारेका थिए ।

उनले ‘धनवृष्टि’ योजनामा बीमितले ३–३ वर्षमा नै आफूले लगानी गरेको बीमाशुल्कको ठूलो हिस्सा फिर्ता प्राप्त गर्ने हुँदा आफ्नो लगानी रकम आफैसँग रहने र साथमा एलआईसी नेपालको जीवन बीमा पनि पाइने भएकोले ग्राहकहरुलाई यो ‘धनवृष्टि’ लिन आग्रह गरे ।