काठमाण्डौ । लाइफ इन्स्योेरेन्स कर्पोरेसन नेपाल(एलआइसी नेपाल)ले बम्पर लाभांश वितरणको घोषणा गरेको छ । 

यो कम्पनीले आफ्ना सेयरधनीलाई ७० प्रतिशत लाभांश वितरणको घोषणा गरेको हो । 

कम्पनीको ९९ औं बोर्ड बैठकले ३४.४६२६ प्रतिशत बोनस सेयर र ३५.५३७३ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको हो । 

आर्थिक वर्ष २०७४/७५ को वित्तीय विवरण कम्पनीको आगामी वार्षिक साधारणसभा र नियामक बिमा समितिबाट स्वीकृत भएपछि मात्र घोषित लाभांश वितरण हुनेछ । 

हाल यो कम्पनीको चुक्तापूँजी १ अर्ब ४९ करोड रुपैयाँ रहेको छ । प्रस्तावित बोनस सेयर वितरणपछि चुक्तापूँजी बढेर २ अर्ब १ करोडको उचाईमा पुगेको हो । 

यो कम्पनीले २०७३/७४ को मुनाफाबाट लगानीकर्तालाई ३६ प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने कर प्रयोजनका लागि १.८९ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको थियो । 

तर, एलआइसीको यो प्रस्ताव बिमा समितिले अस्वीकृत गरेपछि कम्पनी घोषित लाभांशलाई भारी मात्रामा घटाउन बाध्य भएको थियो । 

बिमा समितिले यो कम्पनीलाई सो बेला पेश गरेको वित्तीय विवरणमा संसोधन गरी पुनः पेश गर्न निर्देशन दिएपछि गत कात्तिक १७ गते बसेको एलआइसी नेपालको संचालक समितिको बैठकले ०७३ ७४ को मुनाफाबाट १२ प्रतिशत बोनस सेयर र सोमा लाग्ने कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद लाभांश वितरणको निर्णय गर्नु परेको थियो ।

यो उदाहरणलाई हेर्दा समेत कम्पनीको वित्तीय विवरण बिमा समितिबाट पास नभई आकर्षक लाभांशको लोभमा उचालिएर लगानी गर्नु बुद्धिमानी नहुनसक्छ ।