काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेसन(एलआइसी नेपाल) लिमीटेडको विषयमा आएका समाचारहरुको सो कम्पनीले खण्डन गरेको छ । 
 
एक विज्ञप्ति जारी गर्दै कम्पनीले एलआइसी इण्डियासँग नेपालको कम्पनीलाई जोडेर गलत तथ्यको आधारमा नियतवश समाचार प्रकाशन भएको भन्दै आपत्ति जनाएको छ ।
 
‘एलआईसी इण्डिया र एलआईसी नेपालको बिषयमा गलत तथ्यको आधारमा नियतबश समाचार प्रकाशन गरी कम्पनीको मान मर्दन गरिएको प्रति कम्पनीको गम्भिर ध्यानकर्षण भएको छ ।’ कम्पनीले भनेको छ–‘ यस्ता भ्रामक  समाचार प्रति हाम्रो गम्भिर आपत्ति रहेको समेत जानकारी गराउँन चाहन्छौ ।’ 
 
लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमीटेडको संस्थापना तत्कालिन कम्पनी ऐन, २०५३ अनुसार मिति २०५७–०९–१२ मा भएको उल्लेख गर्दै बीमा समितिबाट मिति २०५८–०४–२३ मा जीवन बीमा व्यवसाय संचालनको अनुमति प्राप्त गरी कम्पनीले मिति २०५८–०५–१६ देखि आफ्नो कार्य संचालन गर्दै आएको विज्ञप्तिमा उल्लेख छ । एलआईसी नेपालमा भारतीय जीवन बीमा निगम (एलआईसीअफ इन्डिया)को ५५ प्रतिशत, विशाल ग्रुपको २५ प्रतिशत  र सर्वसाधारण लगानीकर्ताहरुको २० प्रतिशत सेयर लगानी रहेको छ । 
 
एलआईसी नेपालमा भारतीय जीवन बीमा निगम (एल.आई.सी. अफ इन्डिया) को लगानी रहेता पनि  यस कम्पनीले नेपालको प्रचलित ऐन तथा नियमनकारी निकायहरु (बीमा समिति, नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रार कार्यालय, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लि., सिडिएस एण्ड क्लियरिङ्ग लि.) को निर्देशनहरुलाई पूर्ण रुपले पालना गर्दै आएको उल्लेख छ ।
 
‘एलआईसी इण्डिया तथा एलआईसी नेपाल दुई छुट्टा छुट्टै कम्पनीहरु हुन् । यि दुवै कम्पनी सम्बन्धित मुलुकको ऐन नियम अनुसार सञ्चालित छन् ।’ कम्पनीका सूचना अधिकारी विनोदकुमार भूजेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ–‘अतः एलआईसी इण्डियाको कुनै पनि दायित्वले एलआईसी नेपाल माथि कुनै प्रकारको असर नगर्ने स्पष्ट पार्न चाहन्छौ ।’ 
 
एलआईसी नेपालले आफनो नयाँ बिमालेखकोे शत प्रतिशत पूनर्बिमा नेपाल पूनर्बिमा कम्पनीमा गराउँदै आएको छ । त्यस्तै, नविकरणीय (पुराना) बिमालेखहरुको पूनर्बिमा मलेशियास्थित ह्यानओभर रि कम्पनीमा गराउँदै आएको समेत बताइएको छ । 
 
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले करिब ७ अर्ब ६९ करोड कूल बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै कम्पनीको जीवन बीमा कोष रु. ६१ अर्ब ८४ करोड ५६ लाख पुगेको छ । 
 
एलआईसी नेपालले स्थापनाको १८ औ वर्ष सफलतापूर्वक पूरा गरेको छ । हाल यस बीमकले देशभर ७४ शाखा कार्यालयहरुमार्फत सेवा प्रदान गरिरहेको छ ।