काठमाण्डौ । भारतको सरकारी बिमा कम्पनी एलआईसीका लगानीकर्ताहरु यतिखेर जोखिममा रहेका छन् ।

पछिल्लो पाँच वर्षमा यो कम्पनीको नन परफर्मिङ एसेट्स (एनपीए) अर्थात खराब सम्पत्ति दुईगुनाले बढेको छ । कम्पनीले हालै जारी गरेको वित्तीय प्रतिवेदनअनुसार सन् २०१९ मार्चसम्म एनपीएको आँकडा लगानीको अनुपातमा ६.१५ प्रतिशतले बढेको छ । जब कि सन् २०१४/१५ मा एनपीए ३.३० प्रतिशतसम्म थियो । यसको मतलब पछिल्लो पाँच वर्षको अवधिमा एलआईसीको एनपीए शतप्रतिशतको हाराहारीमा बढेको छ । 

कांग्रेसका पूर्वअध्यक्ष राहुल गान्धीले गत बुधबार ट्विट गर्दै भनेका छन्– ‘मोदी सरकार एलआईसीलाई नोक्सान पुर्याइरहेको छ र यसले आममानिसको यो कम्पनीप्रति भरोसा हराउन थालेको छ ।’

बीबीसी हिन्दीका अनुसार एलआईसीको सन् २०१८/१९ को रिपोर्टअनुसार सन् २०१९ मार्च ३१ सम्म कम्पनीको एनपीए भारु २४ हजार ७७७ करोड रुपैयाँ थियो । जब कि कम्पनीको कुल कर्जा भारु ४ लाख करोड रुपैयाँभन्दा बढी थियो । एलआईसीको कुल सम्पत्ति भारु ३६ लाख करोड रुपैयाँ छ ।

एलआईसीको हालत खराब हुनुको मुख्य कारण कम्पनीले जुन कम्पनीहरुमा लगानी गरेको छ तिनीहरुको अवस्था निकै नाजुक छ । जसमा दिवान हाउजिङ रिलायन्स क्यापिटल, इन्डियाबुल्स हाउजिङ फाइनान्स, पिरामल क्यापिटल र यस बैंकजस्ता कम्पनीहरु सामेल छन् । 

बीबीसी हिन्दीका अनुसार दिवान हाउजिङमा एलआईसीको भारु ६५ सय करोडभन्दा बढी लगानी छ । त्यस्तै रिलायन्स क्यापिटलमा ४ हजार करोडभन्दा बढी लगानी छ । यसरी यति धेरै रकम खराब कम्पनीहरुमा लगानी गरेर एलआईसी आममानिसको करोडौँ लगानीमा जोखिममा पारेको विज्ञहरु बताउँछन् ।

यो कम्पनीको ५५ प्रतिशत स्वामित्व रहेको लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) ले लाखौँ नेपालीबाट बिमाबापत अर्बौं रकम उठाएको छ । भारतमा जोखिममा परेको एलआईसीबाट नेपालमा रहेको एलआईसी नेपाल पनि प्रभावित हुने जानकारहरु बताउँछन् ।