काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडले आफ्ना सेयरधनीहरूलाई ७०% बोनस वितरण गर्ने भएको छ । 

कम्पनीले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई ३५.५३% नगद लाभांश र ३४.४६% बोनस सेयर गरी कुल ७०% को हाराहारीमा बोनस वितरण गर्ने निर्णय पारित गर्न लागेको हो । 

कम्पनीको आउँदा साउन २४ गते डाकिएको १७ औँ साधारणसभाले सेयरधनीहरूलाई बोनस वितरणको निर्णय पारित गर्नेछ । साधारणसभामा विशेष प्रस्तावका रूपमा सञ्चालक समितिबाट प्रस्तावित हालको चुक्ता पुँजी रु. १ अर्ब ४९ करोड ४८ लाख ३८ हजार ८०० मा रु. ५१ करोड ५१ लाख ६१ हजार २०० बराबर अर्थात ३४.४६% बोनस सेयरका रूपमा वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

त्यस्तै सञ्चालक समितिबाट चुक्त पुँजीको ३५.५३% ले हुन आउने रु. ५३ करोड १२ लाख २५ हजार ९६० नगद लाभांश वितरण गर्ने साधारण प्रस्ताव पनि पारित हुनेछ । 

साधारणसभामा विशेष प्रस्तावका रूपमा राखिने कम्पनीको हाल अधिकृत पुँजी, जारी पुँजी तथा चुक्ता पुँजी शीर्षकहरुमा प्रत्येकमा रहेको रु. १ अर्ब ४९ करोड ४८ लाख ३८ हजार ८०० लाई वृद्धि गरी रु. २ अर्ब १ करोड कायम गर्ने प्रस्ताव स्वीकृत गर्ने छ । त्यस्तै पुँजी वृद्धि सम्बन्धमा कम्पनीले प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित गर्ने छ । 

साधारणसभामा सञ्चालक समितिको अध्यक्षद्वारा कम्पनीको वार्षिक प्रतिवेदन २०७४/७५ प्रस्तुत र अनुमोदन हुनेछ ।