काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपाललाई हकप्रद सेयर जारी गर्न स्वीकृति प्रदान गरेको छ।  

प्राधिकरणले बिहीबार (पुस २१ गते) पत्र पठाउँदै एलआईसी नेपाललाई हकप्रद जारी गर्न स्वीकृति प्रदान गरेको हो। पत्रमा एलआईसी नेपाललाई विशेष साधारणसभामा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित भएबमोजिम गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरिएको उल्लेख छ। 

कम्पनीले आउँदो माघ ३ गते विशेष साधारणसभा डाकेको हो। सभा काठमाण्डौको नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजेबाट हुनेछ। 

सभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम हाल कायम चुक्तापुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँको ८८.४५ प्रतिशतले हुने अर्थात १ः०.८८४५ को अनुपातले हुने २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँबराबरको हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। 

हकप्रद जारी गरेपश्चात कम्पनीको अधिकृत पुँजी, जारी पुँजी र चुक्तापुँजी वृद्धि हुने हुँदा सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन संशोधन गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ। 

कम्पनीको प्रबन्धपत्र र नियमावलीको आवश्यक संशोधन गर्ने सन्दर्भमा नियमनकारी निकायहरुबाट आवश्यक संशोधन, परिमार्जन, थपघट तथा भाषिक संशोधन गर्न सुझाव वा निर्देशन आएमा सोहीअनुरुप आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने विशेष प्रस्ताव सभाले पारित गर्नेछ। 

विशेष साधारणसभा प्रयोजनार्थ कम्पनीले यही पुस २५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस २४ गतेसम्म कायम सेयरधनीहरुमात्रै कम्पनीको विशेष साधारणसभामा भाग लिन पाउनेछन्।