काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालको सेयरमा खुलेआम इन्साइडर ट्रेडिङ भइरहेको पुष्टि भएको छ। 

पछिल्लो समय यो कम्पनीको सेयरमूल्यमा लगातार बढोत्तरी भइरहेको छ। हिजोमात्रै यो कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको थियो। हिजो एकैदिन प्रतिकित्ता १४०.९० रुपैयाँ बढेर यो कम्पनीको सेयरभाउ १५४९.९० रुपैयाँ पुगेको छ।

यो कम्पनीले हकप्रद निष्कासन गर्ने र उक्त हकप्रदमा एलआईसी भारतले ठूलो लगानी गर्ने भन्ने हल्ला दुई हप्ता दिनअगाडिबाटै बजारमा चलेको थियो। तर, एलआईसी भारतको सञ्चालक समितिको दुई दिनअघि मात्र बसेको बैठकले एलआईसी नेपालको हकप्रदमा भारु १ अर्ब २७ करोड ७ लाख रुपैयाँ लगानी गर्ने निर्णयलाई स्वीकृत गरेको छ। 

एलआईसी भारतले एलआईसी नेपालको हकप्रदमा लगानी गर्ने सूचना कम्पनीका सञ्चालकहरुबाट चुहिएकोले यो कम्पनीको सेयरमूल्यमा खुलेआम चलखेल भइरहेको पुष्टि भएको हो। एलआईसी भारतले हकप्रदमा लगानी गर्ने निर्णय गरे पनि बीमा समितिले भने हकप्रद निष्कासनको अनुमति दिन्छ कि दिँदैन टुंगो लागिसकेको छैन। तर, हकप्रदको फन्डामा खुलेआम चलखेल हुँदा पनि नियामक निकायहरुले भने खासै चासो नदिएको देखिन्छ। 

केही दिनअघि सेयरमूल्यमा चलखेल भइरहेको खबर पाएपछि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले एलआईसी नेपाललाई स्पष्टीकरण सोधेको थियो। तर, कम्पनीले आफ्नोतर्फ कुनै सूचना नचुहिएको दाबीसहितको पत्र पठाएपछि सेबोनले कारबाही प्रक्रिया रोकेको थियो। 

नियामकको फितलो अनुसन्धान र कारबाही प्रक्रियाले अन्ततः साना र सोझासाझा लगानी फस्दै आएका घटना अहिलेको मात्रै होइन। यस्ता अन्य धेरै उदाहरण छन्। 

हाल एलआईसी नेपालको चुक्तापुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ रहेको छ। जसमा एलआईसी भारतको ५५ प्रतिशत अर्थात १ अर्ब ४५ करोड ९२ लाख रुपैयाँबराबरको हिस्सा रहेको छ। एलआईसी भारतले आफ्नो हिस्साको लगभग ८८ प्रतिशत थप लगानी हकप्रदमा गर्न लागेको हो। 

यदि एलआईसी नेपालले पनि चुक्तापुँजीको करिब ८८ प्रतिशत हकप्रद जारी गर्छ भने यो कम्पनीको चुक्तापुँजी ४ अर्ब ९८ करोड ८२ लाख रुपैयाँ पुग्नेछ। त्यसमा आफ्ना सेयरधनीहरुलाई बोनस सेयर जारी गरेमा यो कम्पनीको चुक्तापुँजी बीमा समितिले तोकेबमोजिम ५ अर्ब रुपैयाँ सजिलै पुग्ने देखिन्छ। 

बीमा समितिले जीवन बीमा कम्पनीलाई ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीलाई साढे २ अर्ब रुपैयाँ चुक्तापुँजी पुर्याउन भनेको छ। यद्यपि बीमा समितिले भने अन्य बीमा कम्पनीलाई भने हकप्रद निष्कासनको अनुमति दिएको छैन। जसका कारण अधिकांश बीमा कम्पनीहरुले मर्जरकै बाटो रोजिरहेका छन्। 

यो अवस्थामा बीमा समितिले एलआईसी नेपाललाई हकप्रद निष्कासनको अनुमति दिन्छ कि दिँदैन, त्यो भने हेर्न बाँकी नै छ।