काठमाण्डौ । एलन मस्कको कम्पनी स्पेसएक्सको सेटेलाइट इन्टरनेट सेवा ‘स्टारलिंक’ अब विश्वका ३२ देशमा उपलब्ध हुने भएको छ। 

कम्पनीले आफ्नो आधिकारिक ट्विटर अकाउन्टबाट यस्तो घोषणा गरेको हो। स्टारलिंकले ट्विटरमा यस सेवालाई जनाउँदै एउटा तस्बिर सार्वजनिक गरेको छ। जसमा एउटा नक्सा देखाइएको छ र यसले अधिकांश युरोप र उत्तर अमेरिकाका साथ–साथै दक्षिण अमेरिका, अस्ट्रेलिया र न्युजिल्यान्डका केही स्थानमा सेवाको उपलब्धता देखाएको छ। 

यसअघि स्पेसएक्सको सुविधा सन् २०२२ मा केवल २५ देशमा मात्रै उपलब्ध गराइने जनाइएको थियो। तर, अहिले कम्पनीले यसलाई बढाएर ३२ देशमा उपलब्ध गराइने जनाएको छ। 

रिपार्टका अनुसार यो सूची अझै बढ्न सक्छ। स्टारलिंकको फाइदा टाढा दुर्गम स्थानमा बसोबास गर्ने ती प्रयोगकर्ताहरुलाई हुनेछ, जोसँग केबलमा आधारित इन्टरनेटको पहुँच छैन। 

स्पेसएक्सले आफ्नो स्टारलिंक नेटवर्कलाई बलिया बनाउनका लागि कयौँ लो–अर्थ अर्बिट(एलईओ)सेटेलाइट लन्च गरिसकेको छ। 

केही महिनाअघि कम्पनीलाई सेवा प्रवाह गर्न समस्या भइरहेको थियो र ग्राकले निरन्तर गुनासो गरिरहेका थिए। कम्पनीले यी समस्याहरुलाई पनि समाधान गर्ने जनाएको छ। – एजेन्सी