काठमाण्डौ । ट्विटर र टेस्लाका प्रमुख एलन मस्कले विश्वकै सबैभन्दा धनीव्यक्तिको उपाधि गुमाएका छन्।

फोर्ब्र्सले बुधबार सन् २०२२ का लागि विश्वका धनीव्यक्तिको सूची सार्वजनिक गरेको छ। जसअनुसार मस्कलाई लक्जरी ब्रान्ड लुइस भिटनको मूल कम्पनी एलभीएमएचका प्रमुख कार्यकारी बर्नार्ड अर्नाल्टले उछिनेका छन्। अर्नाल्ट १८५.८ बिलियन डलरको कुल सम्पत्तिका साथ विश्वकै धनीव्यक्ति बन्न सफल भएका छन्। जब कि मस्कलको कुल सम्पत्ति घटेर १८५.७ बिलियन डलरमा झरेको छ।

फोर्ब्सको रिपोर्टअनुसार नोभेम्बर ८ मा मस्कको कुल सम्पत्ति २०० बिलियन डलरभन्दा तल झरेको थियो। यस वर्षको सुरुमा मस्कले ट्विटर किन्न प्रस्ताव गरेका थिए। त्यसपछि टेस्लाको स्टक २.७ प्रतिशतले घट्यो। ट्विटरको सीईओ बनेपछि कम्पनीका ६० प्रतिशत कर्मचारीले राजीनामा दिएका थिए।

यसबाहेक मस्क र उनको इलेक्ट्रिक कार निर्माता टेस्लाले कोरोनाको अवधिमा पनि धेरै चुनौतीको सामना गर्नुपरेको थियो। मिडिया रिपोर्टका अनुसार कम्पनीले अझै पनि चीनमा कोरोना प्रतिबन्धको सामना गरिरहेको छ। टेस्लाका लागि अमेरिकापछि चीन दोस्रो ठूलो बजार हो।

सन् २०२१ मा फोर्ब्सको सूचीमा मस्क विश्वकै सबैभन्दा धनीव्यक्तिमध्ये शीर्ष स्थान पुगेका थिए। उनी ३०२ बिलियन डलरका साथ शीर्ष स्थानमा थिए। उनले अमेजनका संस्थापक जेफ बेजोसलाई पछि पारेका थिए। 

बर्नार्ड अर्नाल्टलाई आधुनिक लक्जरी फेसन उद्योगको गाडफादर मानिन्छ। उनी विश्वको सबैभन्दा ठूलो फेसन समूह लुइस विटन मोएट हेनेसी (एलभीएमएच) का संस्थापक, अध्यक्ष र सबैभन्दा ठूलो सेयरधारक हुन्। 

बर्नार्ड अर्नाल्टको समूह लुइस भिटन बजार क्यापको हिसाबले आफ्नो निकटतम प्रतिद्वन्द्वी केरिङभन्दा झन्डै चारगुणा ठूलो छ। –एजेन्सी