काठमाण्डौ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले प्रधानमन्त्री शेरबहादुर देउवासँग एलसी खोल्ने कार्यलाई निरन्तरता दिन आग्रह गरेको छ। 

नाडा अध्यक्ष धु्रव थापाको नेतृत्वमा गएको चार सदस्यीय प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गर्दै यस्तो आग्रह गरेको हो। 

भेटघाटमा अध्यक्ष थापाले २ खर्बभन्दा बढीको लगानी रहेको अटोमोबाइल क्षेत्रले हरेक वर्ष १ खर्ब ५० अर्बभन्दा बढी राजश्वमा योगदान पुर्याउँदै आएको बताए। ‘देशको प्रत्यक्ष रोजगारीमा ५० हजारभन्दा बढीलाई अवसर दिँदै आएको अटोमोबाइल क्षेत्रलाई नजरअन्दाज गर्दै सम्पूर्ण सवारी तथा ढुवानीका साधनलगायत त्यसमा प्रयोग हुने स्पेयर पार्टसको आयातका लागि प्रतीतपत्र (एलसी) खोल्ने सम्बन्धमा व्यवसायीलाई कुनै समय नै नदिई अप्रत्यासित रुपमा बन्द गरिएको छ’, उनले भेटमा भने, ‘यो निर्णयमा तत्काल सम्बोधन गरिदिन आग्रह गर्छौं।’

छलफलमा महासचिव सुरेन्द्रकुमार उप्रेतीले अटोमोबाइल क्षेत्रको ठूलो योगदानका बाबजुद पनि सरकारका नीतिहरु जहिले पनि अटोमोबाइल व्यवसायीहरुलाई निरुत्साहित गर्ने खालको हुने गरेको गुनासो गरे। 

भेटमा प्रधानमन्त्री देउवाले नाडाका सुझावहरुलाई सकारात्मक बताए। ‘सवारीसाधनहरुको आयातका लागि एलसी खोल्न बन्द गरिएको सन्दर्भमा त्यसबारे आवश्यक जानकारी लिई सम्बन्धित निकायमा निर्देशन दिइनेछु’, उनले भने।