काठमाण्डौ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले एलसी मार्जिनमा ब्याज प्रदान गर्न तथा कर्जाको ब्याज घटाइदिन नेपाल राष्ट्रबैंकलाई आग्रह गरेको छ । 

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको पूर्वसन्ध्यामा नाडाले राष्ट्रबैंकलाई एक पत्र लेखी यस्तो आग्रह गरेको हो । 

हालै नेपाल राष्ट्र बैङ्कले जारी गरेको निर्देशिकामा सवारी साधन लगायत अटोमोवाइल स्पेयर पार्टसहरुको आयातका लागि एलसी खोल्दा न्यूनतम मार्जिनको सीमा ५ प्रतिशतबाट बृद्धि गरेर ५० देखि १०० प्रतिशतसम्म कायम गरिएको उल्लेख गर्दै नाडाले यस्तो व्यवस्थाका कारण सवारी साधन लगायत स्पेयर पार्टसहरुको सहज आपूर्ति व्यवस्थामा समस्या हुने औंल्याएको छ । 

साथै, त्यसले सवारी साधन तथा स्पेयर पार्टसहरुको मूल्य समेत बढन गई उपभोक्ताहरुलाई समेत असर पर्ने भन्दै पूर्व व्यवस्था अनुसारको न्यूनतम मार्जिनको व्यवस्था कायम गरिदिन समेत आग्रह गरेको छ । 

यदि सो व्यवस्था तत्काल परिमार्जन गर्न सम्भव नभएमा व्यवसायीहरुले एलसी मार्जिनका लागि राखेको उक्त धरौटी रकममा बैंङ्क तथा वित्तीय संस्थाहरुले व्याज प्रदान गर्ने व्यवस्थाका लागि नेपाल राष्ट्र बैंङ्कबाट निर्देशन जारी गर्न समेत माग गरिएको नाडाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

नाडाले नेपालका बैङ्क तथा वित्तीय निकायहरुले निक्षेपको व्याजदर बढाउने निर्णय गरेकोमा आपत्ति समेत जनाएको छ । ‘निक्षेपको व्याजदर बढेसँगै बैंङ्क तथा वित्तिय निकायहरुले स्वभाविक रुपमा कर्जाको ब्याजदर पनि बढाउने भएकोले यसमा पुनर्विचारका लागि नेपाल राष्ट्र बैंङ्कसँग अनुरोध गरिएको छ ।’ विज्ञप्तिमा भनिएको छ–‘वित्तीय निकायहरुले ब्याजदर बढाउँदा कोरोना महामारीबाट भर्खर पुनरुत्थानतर्फ बढ्दै गरेको औद्योगिक तथा व्यावसायिक क्षेत्रलाई ठूलो मार पर्नेछ । उद्योग व्यवसायलाई पूर्णरुपमा सञ्चालनमा ल्याउन सरकारबाट सहयोगको अपेक्षा भइरहेको बर्तमान समयमा यस्तो नीतिले थप समस्या मात्र ल्याउने नभई बर्तमान तरलता समस्याको समाधान पनि नहुने निश्चित छ । र यसले नेपालको अर्थतन्त्रलाई नै थप जोखिममा पार्ने देखिएकोले कर्जाको ब्याजदर बढाउने नीतिमा पुर्नविचारका लागि नेपाल राष्ट्र बैङ्कसँग नाडाकोतर्फबाट अनुरोध गरिएको छ ।’