काठमाण्डौ। थोरै बीमाशुल्कमा आर्थिक सुरक्षा प्रदान गर्ने उद्देश्यले एशियन लाइफ इन्स्योरेन्स कम्पनीले 'मेरो सुरक्षा कवच' नाराका साथ आकर्षक एवं नवीनतम जीवन बीमा योजना 'एशियन सुरक्षा प्लस (म्यादी) जीवन बीमा' सार्वजनिक गरेको छ। 

कम्पनीको प्रधान कार्यालयमा बिहीबार सञ्चालक समितिको अध्यक्ष  दिपककुमार श्रेष्ठलगायत सञ्चालक समिति सदस्यहरुको उपस्थितिमा यो बीमा योजना सार्वजनिक गरिएको हो। यस बीमा योजनाअन्तर्गत १६ वर्षदेखि ६४ वर्ष उमेरसम्मको व्यक्तिले न्यूनतम २५ हजार रुपैयाँदेखि अधिकतम आफ्नो आयस्रोतका आधारमा बीमांक रकम चयन गर्न सक्नेछन्। 

न्यूनतम १ वर्षदेखि अधिकतम १५ वर्षसम्मका लागि जारी हुने यस बीमा योजनाअन्तर्गत बीमाशुल्क भुक्तानीका लागि एकल, नियमित र सीमित भुक्तानीमध्ये कुनै एउटा विकल्प रोज्न सकिनेछ। यसले गर्दा बीमाशुल्क भुक्तानीमा बीमितलाई सहजता हुनेछ।

यस योजनाअन्तर्गत बीमा अवधिभित्र बीमितको निधन भएमा बीमांक रकम भुक्तानी दिइनेछ। बीमा अवधिभित्र बीमित जीवितै रहेको अवस्थामा कुनै पनि रकम प्रदान गरिने छैन।

यस योजनाअन्तर्गत दाह संस्कार खर्च, दुर्घटना मृत्यु लाभ र दुर्घटना मृत्यु लाभ, स्थायी अपांग÷अशक्त सुविधा बीमा शुल्क छुट सुविधाजस्ता ऐच्छिक सुविधा पनि लिन सकिनेछ। 

यो बीमा योजना सार्वजनिक भएकै दिन आज देशभर रहेका ४० वटा शाखा कार्यालयबाट ५ हजार ३०१ वटा म्यादी बीमालेखहरु जारी गरिएको कम्पनीले जनाएको छ। अभिकर्ता तथा बीमितले यस योजनाप्रति देखाएका उत्साहप्रति कम्पनीले आभार प्रकट गरेको छ। 

रु. ५ अर्ब अधिकृत पुँजी, रु. २ अर्ब १ करोड चुक्ता पुँजी रहेको कम्पनीको २०७७ पुस मसान्तसम्म जीवन बीमा कोष रु.२४.७१ अर्ब रहेको छ। साथै, कम्पनीले पुस मसान्तसम्ममा रु. ३.१७ अर्ब बीमाशुल्क आर्जन गरेको छ।