काठमाण्डौ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एसटीसी) र “ख” वर्गको इजाजतपत्र प्राप्त सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडबीच भुक्तानी र फछ्र्यौटको क्षेत्रमा सहकार्य गर्नका लागि सम्झौता सम्पन्न भएको छ। 

आज एसटीसीको काठमाण्डौ बालुवाटारस्थित मुख्य कार्यालयमा एक कार्यक्रमबीच एसटीसीका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत दिपेश मास्के र सप्तकोशी डेभलपमेन्ट बैंककाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नवीन सुवेदीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

केन्द्रीय बैंकको नीति र निर्देशनअनुरुप समग्र भुक्तानी प्रणालीमा नगदको भौतिक प्रयोगलाई कम गर्दै विद्युतीय कारोबारलाई बढावा दिने प्रमुख उद्देश्यका साथ क्रियाशील एसटीसी र विगत लामो समयदेखि सर्वसाधारणलाई बैंकिङ सेवा पुर्याउँदै आएको सप्तकोशी डेभलपमेन्ट बैंकको यस सहकार्यबाट मुलुकको समग्र डिजिटल इकोसिस्टमको विकासमा थप योगदान पुग्न जाने आशा लिइएको छ। 

धनकुटामा मुख्य कार्यालय र विराटनगरमा कर्पोरेट अफिस रहेको बैंकले प्रदेश १ का विभिन्न सात जिल्लामा आफ्ना शाखा सञ्जालमार्फत सर्वसाधारणलाई विविध बैंकिङ सेवासुविधा प्रदान गर्दै आएको छ। 

एसटीसीसँगको सहकार्यबाट बैंकले आफ्ना ग्राहकलाई भुक्तानी कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्रदान गर्न सहजता प्राप्त गर्नेछ। एसटीसी सञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतभित्र एटीएम, पीओएस र ई–कमर्सजस्ता सेवा सजिलै लिन सक्ने सुविधा प्राप्त हुने बैंकले जनाएको छ।