काठमाण्डौ । नेपाल एसबीआई बैंकको वार्षिक साधारणसभाले चुक्तापूँजीमा १५.७९ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको छ । 

बैंकको सोमबार काठमाण्डौस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा आयोजित २५ औं वार्षिक साधारणसभाले संचालक समितिले गरेको प्रस्ताव अनुसार ५ प्रतिशत बोनस सेयर र १०.७९ प्रतिशत नगद लाभांश वितरणको अजेण्डा पारित गरेको हो । 

सभाले बैंकको आ.व. २०७४/७५ को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०७५ को वासलात, आ.व. २०७४/७५ को नाफानोक्सान हिसाब र सोही अवधीको नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेको छ ।
बैंकले आ.व. २०७४/७५ मा रु. २७६.१७ करोड संचालन मुनाफा र रु. २०२.३५ करोड खुद मुनाफा हासिल गरेको छ । 

साधारणसभाले बैंकको सहायक कम्पनी “नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लि.” को आ.व. २०७४/०७५ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण समेत स्वीकृत गरेको छ । 

साधारणसभाले आ.ब. २०७५/७६ को बैंकको लेखापरीक्षण गर्नका लागि मेशर्स पिकेएफ टि.आर. उपाध्याय एण्ड कं., चाटर्ड एकाउण्टेन्ट्लाई लेखापरीक्षकमा नियुक्ती एवं निजको पारिश्रमिक अनुमोदन गरेको छ । 

साथै, उक्त सभाले बैंकको प्रबन्धपत्र तथा नियमावलीका विविध दफा/नियममा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।