काठमाण्डौ । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र फर्स्ट पे टेक्नोलोजिजले सञ्चालन गर्दै आएको स्मार्ट क्यूआर र फर्स्ट पे क्यूआरबीच अन्तरआबद्धताका लागि सम्झौता सम्पन्न भएको छ।

हालै स्मार्टच्वाइस टेक्नोलोजिजको गैरीधारास्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमका बीच एससीटीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र फर्स्ट पेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सौरभ रिजालले सो सेवा सञ्चालनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। 

नेपाल राष्ट्र बैंकद्वारा २०७८ माघमा जारी गरेको परिपत्रका आधारमा सबै अनुमतिप्राप्त भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) तथा भुक्तानी सेवा प्रदायक (पीएसपी)लाई अन्तरआबद्धताका लागि दिएको निर्देशनअनुरुप यो सम्झौता सम्पन्न भएको हो।

विगत २० वर्षदेखि कार्डलगायत भुक्तानीका बिभिन्न सेवा दिँदै आइरहेको एससीटी र युनियन पेमा आबद्ध भुक्तानी संयन्त्रमार्फत कारोबार गर्न सकिने क्यूआर सेवा प्रदान गर्दै आएको फर्स्ट पे टेक्नोलोजिजबीच भएको यो सहकार्यले भुक्तानी क्षेत्रको समग्र विकासमा थप योगदान पुग्न जाने आशा लिइएको छ।

यस सम्झौतापश्चात फर्स्ट पे क्यूआरको सुविधा लिएका विभिन्न व्यापार—व्यवसायलाई स्मार्ट क्यूआरको नेटवर्कअन्तर्गत रहेको भुक्तानी सेवा प्रदायक (पीएसपी) वालेट तथा मोबाइल बैंकिङ एपमार्फत ग्राहकले सहज र सुरक्षित रुपमा भुक्तानी गर्न सक्छन् भने स्मार्ट क्यूआरमार्फत भुक्तानी लिँदै आएका व्यापार–व्यवसायले फर्स्ट पे नेटवर्कमा आबद्ध ग्राहकमार्फत पनी भुक्तानी लिन मिल्ने भएको छ।