काठमाण्डौ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमतिप्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) तथा एभरेष्ट बैंकबीच स्मार्ट क्यूआरमार्फत भुक्तानी सेवा सञ्चालनका लागि सम्झौता सम्पन्न भएको छ। 

सम्झौतापत्रमा एससीटीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र एभरेष्ट बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्माले हस्ताक्षर गरेका छन्। 

विगत २० वर्षदेखि कार्डलगायत भुक्क्तानीका विभिन्न सेवा दिँदै आएका एससीटी र स्थापनाकालदेखि नै ग्राहकको पहिलो रोजाइ बनेको एभरेष्ट बैंकबीच भएको यस सम्झौताले समग्र नेपालको डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने आशा गरिएको छ।

यस सहकार्यले एभरेष्ट बैंकको मोबाइल बैंकिङ  प्रयोगकर्ताले ईबीएल टच ट्वान्टीफोर एपमार्फत स्मार्ट क्यूआर मर्चेन्टहरुमा भुक्तानी गर्न सक्छन् भने एभरेष्ट बैंकमार्फत विभिन्न व्यापार—व्यवसायमा संलग्न व्यवसायीहरुले स्मार्ट क्यूआरको सुविधा लिन सक्नेछन्। ईएमभी स्ट्यान्डर्डमा जारी गरी फाइनान्सियल स्विचमार्फत कारोबारको भुक्तानी तथा फर्छ्योट गर्ने भएकाले स्मार्ट क्यूआरमार्फत भुक्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो रहन्छ।