काठमाण्डौ । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३ अर्ब १३ करोड रुपैयाँ बढी खुद बीमा शुल्क आर्जन गरेको छ।

आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको बीमा शुल्क आर्जन गत वर्षको यही अवधिको तुलनामा ३७.१९ प्रतिशतले बढी हो। अघिल्लो वर्षको यही अवधिमा कम्पनीको बीमा शुल्क आर्जन २ अर्ब २८ करोड रुपैयाँमा सीमित थियो। 

समीक्षा अवधिमा यो कम्पनीले लगानी, कर्जा तथा अन्यबाट हुने आय ३४.४० प्रतिशतले बढाएर ९५ करोड ७५ लाख रुपैयाँ पुर्याएको छ। अघिल्लो वर्ष यस्तो आय ७१ करोड २४ लाख रुपैयाँमा सीमित थियो। 

यो अवधिमा कम्पनीको दाबी भुक्तानी ४४.३३ प्रतिशतले बढेर ४२ करोड ७६ लाख रुपैयाँबराबरको दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म यस्तो भुक्तानी २९ करोड ६३ लाख रुपैयाँमा सीमित थियो। 

समीक्षा अवधिमा कम्पनीको व्यवस्थापन खर्च ३१.७७ प्रतिशतले बढेर २५ करोड ४१ लाख रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिमा कम्पनीको व्यवस्थापन खर्च १९ करोड २९ लाख रुपैयाँ रहेको थियो। 

समीक्षा अवधिमा कम्पनीले जीवन बीमा कोषको आकार बढाएर २४ अर्ब ७१ करोड पुर्याएको छ। अघिल्लो वर्ष यस्तो कोषको आकार १९ अर्ब ३१ करोड रुपैयाँमा सीमित थियो। 

अघिल्लो वर्षको यही अवधिसम्म ४७ करोड ४४ लाख रुपैयाँको जगेडा तथा कोषको आकार बढेर ७२ करोड ३१ लाख रुपैयाँको उचाइमा पुगेको छ। त्यस्तै महाविपत्ति जगेडाको आकार ५ करोड ५२ लाख रुपैयाँबाट बढेर ७ करोड ८८ लाख रुपैयाँ पुगेको छ। 

दोस्रो त्रैमासमा कम्पनीको नाफा ४५.०२ प्रतिशतले बढेर १७ करोड ६० लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा कम्पनीको नाफा १२ करोड १३ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिसम्म कम्पनीको कुल कायम रहेको बीमालेखको संख्या ३ लाख ९ हजार ६१० पुगेको छ। गत वर्ष यही अवधिसम्म यो संख्या २ लाख ८३ हजार ३९५ रहेको थियो।

चुक्तापुँजी २ अर्ब १ करोड रुपैयाँ बढी रहेको कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १२.०७ रुपैयाँबाट बढेर १७.५१ रुपैयाँ पुगेको छ। पीई रेसियो ५९.२२ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १३९.८८ रुपैयाँ रहेको छ।