काठमाण्डौ । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।

कम्पनी सञ्चालक समितिको हिजो बिहीबार बसेको बैठकले उक्त आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो। हाल कम्पनीको चुक्तापुँजी २ अर्ब १ करोड ७ लाख ६० हजार ७२७.०४ रुपैयाँ रहेको छ। 

यसैबीच बैठकले कम्पनीको ११ औँ वार्षिक साधारणसभा आउँदो पुस ४ गते वीरगन्जको होटल पुजनमा गर्ने निर्णय गरेको छ। सभाले विशेष प्रस्तावका रुपमा राख्ने कम्पनीले संस्थागत सामाजिक उत्तदायित्व बहन गर्ने क्रममा आर्थिक सहायता प्रदान गर्दा कम्पनी ऐन २०६३ को दफा १०५ को उपदफा १ को खण्ड (ग) ले निर्धारण गरेको सीमाभन्दा बढी भएको खर्च रकमलाई अनुमोदन गर्नेछ। 

वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनी मंसिर १९ गतेदेखि पुस ३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ सभामा भाग लिन मंसिर १८ गतेसम्म सेयरधनी कायम भइसक्नुपर्नेछ।