काठमाण्डौ। एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आजबाट आफ्नो कार्यकालको १४ औँ वर्ष पूरा गरी १५ औँ वर्षमा प्रवेश गरेको छ।

२०६४ चैत्र २१ गतेबाट कारोबार प्रारम्भ गरेको कम्पनीले १५ औँ वर्ष प्रवेश गरेको उपलक्ष्यमा आज चैत २१ गतेदेखि वार्षिकोत्सव साप्ताहिक कार्यक्रमअन्तर्गत सामाजिक उत्तरदायित्वसँग सम्बन्धित विविध कार्यक्रमहरु आयोजना गरिएको छ। 

वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायीत्वलाई विशेष प्राथमिकता दिई आज काठमाण्डौ मैतीदेवीस्थित प्रधान कार्यालय परिसरमा आयोजित रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेका छन्। वार्षिकोत्सवको अवसरमा भक्तपुरको बालकोटस्थित मानव सेवा आश्रममा खाद्यान्न सामग्री वितरण गरिएको छ।

यसका साथै ४७ वटा शाखा कार्यालयमार्फत स्थानीय आश्रम, विद्यालय तथा अनाथालयहरुमा रु.४ लाख ७० हजार मूल्यबराबरको शैक्षिक सामग्री, खाद्यान्न तथा फर्निचर सामग्री वितरण गरिएको कम्पनीले जनाएको छ। 

वार्षिकोत्सवको अवसरमा प्रधान कार्यालयमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा कम्पनीको सञ्चालक समिति अध्यक्ष दिपककुमार श्रेष्ठले एसियन लाइफ इन्स्योरेन्सको व्यावसायिक यात्रामा निरन्तर १४ वर्षदेखि सहयोग पुर्याउँदै आएका सम्पूर्ण शुभेच्छुकहरुमा हार्दिक आभार व्यक्त गरे। 

देशभर रहेका १५१ वटा शाखा उपशाखामार्फत जीवन बीमा सेवा प्रदान गरिरहेको कम्पनीले १४ वर्षको अवधिमा २०७८ फागुन मसान्तसम्ममा कुल ६ लाख ३४ हजार बीमालेख बिक्री गरी रु. ३३ अर्ब ७५ करोड बीमाशुल्क संकलन गरेको छ। कम्पनीको जीवन बीमा कोष रु. ३० अर्ब २४ करोड र कुल लगानी रु. ३२ अर्ब ४३ करोड रहेको छ।