काठमाण्डौ । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साढे १ लाख कित्ता बढी संस्था सेयर आउँदो वैशाख २६ गतेबाट लिलामीमा राखिने भएको छ।

एसियन लाइफमा रहेको महालक्ष्मी विकास बैंक लिमिटेडको संस्थापक समूहको १ लाख ६६ हजार ७५७ कित्ता सेयर लिलामीमार्फत बेच्न लागिएको हो। लिलामी सेयरमा विद्यमान सेयरधनीका साथै जोकोही व्यक्ति, कम्पनी र संघसंस्थाहरुले आवेदन दिन सक्नेछन्। 

लिलामीमा राखिने सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ६९८ रुपैयाँ तोकिएको छ। लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य बोलकबोल गर्नुपर्नेछ। 

बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ। बोलपत्र धितोपत्र बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडको काठमाण्डौको नक्साल नारायणचौरस्थित कार्यालयमा पेस गर्नुपर्नेछ।

बोलपत्र पेस गर्ने अन्तिम मिति आउँदो जेठ ९ गतेसम्म तोकिएको छ।