काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्जबाट प्राप्त शुल्क पुनरावलोकन प्रस्ताव पारित गर्दै ओटीसी बजार कारोबार शुल्कमा भारि कटौति गरेको छ । 

शुक्रबार एक विज्ञप्ति प्रकाशित गर्दै बोर्डले ओटीसी बजार कारोबार शुल्कमा ९० प्रतिशतसम्म कटौति गरिएको स्पष्ट पारेको हो । 

ओभर द काउण्टर बजार(ओटीसी बजार) संचालन सम्बन्धी विनियमावली, २०६५ बमोजिम सो बजारमा कारोबार हुन सकेको छैन । 

ओटीसी बजार सक्रिय हुन नसकिरहेको अवस्थामा धितोपत्र बोर्डले ०७२ पुस ६ गते कम्पनी रजिष्टारको कार्यालयलाई पत्र लेखी ओटीसी बजारमा कारोबार हुनसक्ने कम्पनी सम्बन्धी जानकारी गराउँदै सो कार्यालयमा दर्ता भएका, तर सूचिकरण नभएका पब्लिक लिमीटेडका कम्पनीका धितोपत्रहरुको कारोबार हुने व्यवस्थाका लागि अनुरोध गरेको थियो । त्यसपछि कम्पनी रजिष्टारको कार्यालय र नेपाल स्टक एक्सचेञ्जले संयुक्त रुपमा ओटीसी बजारलाई अगाडि बढाइरहेको सन्दर्भमा यसलाई थप सक्रिय बनाउन शुल्कमा ९० प्रतिशतसम्म कटौति गरिएको बोर्डले प्रष्ट्याएको छ । 

ओटीसी बजारमा कारोबार सुरु भए पनि शुल्क उच्च भएको भन्दै त्यसमा पुनरावलोकन गर्न नेपाल उद्योग वाणिज्य महासंघ लगायतका सरोकारवालाहरुले बोर्ड र नेप्सेलाई सुझाव दिएका थिए । सक्रिय रुपमा कारोबार हुन नसकिरहेको ओटीसी  बजारलाई प्रोत्साहन गर्न कारोबार शुल्कमा प्रोत्साहनमूलक कटौति गरी पुनरावलोकनका लागि पेश गर्न बोर्डले नेप्सेलाई निर्देशन दिएको थियो । 

नेप्सेबाट प्राप्त शुल्क पुनरावलोकन प्रस्ताव बोर्डमा पेश भएको र बोर्डलाई बुझाउनुपर्ने शुल्क यथावत राखी अन्य शूल्कमा चाहि ८५ देखि ९० प्रतिशतसम्म घटाउने गरी स्वीकृति दिइएको बोर्डले प्रष्ट्याएको छ । 

बोर्डले तपशीलको तालिका अनुसार शुल्कमा कटौति गरेको छ :

के हो ओटीसी बजार ?
शेयरबजार व्यापारमा ब्रोकरहरूजस्ता मूल्य प्रणालीको संलग्नताविना सीधा एक्सचेञ्जमार्फत व्यापार गर्न अपनाइएको प्रणालीलाई ओटीसी बजार भनिन्छ । यसमार्फत हुने व्यापारलाई छोटकरीमा ओटीसी अर्थात् ओभर द काउण्टर भनिएको हो । सामान्यतया नेप्सेमा सूचीकरण हुन नसकेका, सूचीकरणबाट हटाइएका तथा सूचीकरणका लागि आवश्यक शर्त पूरा गर्न नसकेका कम्पनीहरूको धितोपत्रहरूमा तरलता कायम गरी सर्वसाधारण लगानीकर्ताहरूको हित संरक्षण गर्ने हेतुले ओटीसीमार्फत शेयर व्यापार गर्ने गरिन्छ । सर्वसाधारणमा शेयर जारी नगरेका कम्पनीहरूले यो प्रणालीमा आएर शेयर स्वामित्व परिवर्तन गर्न सक्छन् । ओटीसीमार्फत व्यापार गर्न कम्पनीले सर्वसाधारणमा शेयर जारी गर्नुपर्ने बाध्यता हुँदैन । ओटीसी बजारमार्फत २०६८ सालमा पहिलोपटक नेपाल बैंकको शेयर खरीद विक्री भएको थियो ।