काठमाण्डौ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आज सम्पन्न निर्वाचनमा अनपेक्षित मतपरिणाम ल्याउने देखिएको छ । 

देशभर सो पार्टीको चुनाव चिन्ह ‘घण्टी’प्रति मतदातामा अनपेक्षित आकर्षण देखिएको छ । 

देशका अधिकांश क्षेत्रका मतदान केन्द्रहरुमा मतदान सकिइसकेको छ । योसँगै अब घण्टीप्रतिको जनमतको अवस्था के होला भन्ने व्यापक जनचासो देखिएको छ । 

स्थानीय निकाय निर्वाचनमा देशका मुख्य क्षेत्रहरुमा सर्वेक्षण गरी अधिकांश स्थानको प्रक्षेपण मिलाएको एउटा संस्था फ्याक्ट्स नेपालले यसपटकको निर्वाचनमा पनि विभिन्न क्षेत्रमा आफ्ना प्रतिनिधि खटाएर वैज्ञानिक विधिबाट मत सर्वेक्षण गरेको छ । 

सो संस्थाका एक अधिकारीका अनुसार प्रतिनिधिसभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले देशलाई नै ‘सरप्राइज’ दिने अवस्था देखिएको छ। 

‘फ्याक्ट्स नेपालको ओपिनियन पोलको नतिजाअनुसार रवि लामिछाने नेतृत्वको पार्टीले कम्तीमा ७ देखि १० सिट प्रत्यक्षतर्फ जित्नेछ । यो भनेको न्यूनतम अनुमान मात्रै हो ।’ ती अधिकारीले बिजशालासँग भने–‘यो पार्टीले समानुपातिकमा कम्तीमा २५ सिट जित्ने गरी मत ल्याएको देखिएको छ ।’ 

प्रत्यक्ष र समानुपातिक गरी प्राप्त हुने कुल सिट संख्याका आधारमा संसदमा अब रवि लामिछानेको दल तेश्रो शक्तिको रुपमा उदाउने प्रक्षेपण गर्नसकिने सो संस्थाले जनाएको छ । 

प्रत्यक्षतर्फ झरेको मतको गणना आज राति अबेरबाटै सुरु गर्ने निर्वाचन आयोगको तयारी छ ।