काठमाण्डौ । वैश्विक स्तरमै अग्रणी स्मार्टफोन ब्राण्ड ओपोले बहुचर्चित सिंगिङ रियालिटी टीभी शो ‘ओपो द भ्वाइस अफ नेपाल’को माध्यमबाट युवा प्रतिभालाई प्रोत्साहन गर्ने सोचका साथ हिमालया टीभी एचडीसँग सहकार्यको घोषणा गरेको छ ।

ओपोले द भ्वाइस अफ नेपालको प्रमुख प्रायोजकका रुपमा उक्त सहकार्यको घोषणा गरेको हो । सिंगिङ रियालिटी शोले नेपाली प्रतिभालाई दर्शक सामु आफ्नो गायन कला प्रदर्शन गर्दै लोकप्रियता कमाउने अवसर प्रदान गर्ने छ । नेपाली कला उद्योगकै लागि कोशे ढुङगाका रुपमा स्थापित हुन सफल यो रियालिटी शोमा हजारौँ उत्साहित प्रतिस्पर्धीले सहभागिताका लागि आवेदन दिइसकेका छन् भने धेरैले यसैको माध्यमबाट लोकप्रियताको शिखर चुम्दै व्यवसायिक गायन क्षेत्रमा आफ्नो नाम समेत लेखाइ सकेका छन् । 

‘ब्राण्डका रुपमा ओपोले सधैँ युवा माथि आफ्नो ध्यान केन्द्रित गर्दै तिनलाई सिर्जनात्मक रुपमा आफूमा नीहित प्रतिभाको प्रस्तुति दिन प्रेरित गरिरहन्छ । कला, रचनात्मक अभिब्यक्ति र मनोरञ्जन उद्योग युवा पुस्ताको रुचिको विषय हो । तिनको रुचिसँग मेल खाएको लोकप्रिय कार्यक्रम ‘द भ्वाइस अफ नेपाल’को अभिन्न अंगका रुपमा सहकार्य गर्न पाउनु हाम्रा लागि खुशीको विषय हो’, ओपो नेपालका ब्राण्ड निर्देशक, पियरसन शेनले भने ।