काठमाण्डौ । कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण फैलिने खतरा बढेसँगै विश्व सेयर बजारमा गिरावट आउन थालेको छ। 

ओमिक्रोनको त्राससँगै मुख्यगरी एसिया प्यासिफिक र युरोपेली मुलुकहरुका सेयर बजारमा गिरावट आउन थालेको हो। 

कोभिड खोप निर्माता कम्पनी मोर्डनाका सीईओ स्टेफन बन्सेलले मोर्डना खोप नयाँ भ्यारियन्टका लागि कम प्रभावकारी हुनसक्ने बताएसँगै लगानीकर्ताहरु निरुत्साहित हुँदा विश्वका सेयर बजारमा गिरावट आउन थालेको बताइएको छ। उनले फाइनान्सियल टाइम्ससँगको अन्तर्वार्तामा मोर्डना खोप नयाँ भेरिएन्टका लागि कम प्रभावकारीता हुन सक्ने बताएका छन्। 

यही कारण डाउ फ्युचरमा १ प्रतिशतको गिरावट आएको छ । त्यस्तै साउथ कोरियन स्टक कोस्पी २.४ प्रतिशत, जापनिज स्टक निक्की १.६ प्रतिशत र हङकङ इन्डेक्स १.६ प्रतिशतले ओरालो लागेका छन्। आजै युरोपियन इन्डेक्स पनि १ प्रतिशतले गिरावट भएर खुलेको छ । 

यसैबीच गएको २४ घन्टामा क्रिप्टोकरेन्सीहरुको भाउमा भने सुधार आएको छ। बिटक्वाइनमा १.७ प्रतिशत, इथेरियममा ७.१५ प्रतिशत, बाइनान्समा २.३७ प्रतिशत तथा डोजक्वाइनमा ९.०२ प्रतिशत र शिवाइन्नुमा ३५.३५ प्रतिशतको बढोत्तरी देखिएको छ। –एजेन्सी