काठमाण्डौ । विश्वमा कोरोनाको ओमिक्रोन भेरिएन्टको महालहरबीच वैज्ञानिकहरुले एउटा सुखद् खबर दिएका छन्।

ओमिक्रोन तीव्रगतिमा फैलिरहे पनि गम्भीर बिरामी र अस्पताल भर्ना दर खासै बढेको छैन। केही वैज्ञानिकहरुले यो तथ्यले महामारीको नयाँ र कम चिन्ताजनक च्याप्टर सुरु भएको संकेत गरेको बताउँछन्। 

युनिभर्सिटी अफ क्यालिफोर्नियाको इम्युनोलिजिस्ट मोनिका गान्धीका अनुसार अहिले विश्व यो महामारीको अर्को भिन्न चरणमा पुगेको छ।  ‘कोरोना भाइरस हामीसँग सधैँ रहने छ तर ओमिक्रोन भेरिएन्टले मानिसमा निकै धेरै इम्युनिटी बढाइदिनेछ, जसले यो महामारीको अन्त्य हुनेछ’, उनले भनिन्। 

ओमिक्रोन भेरिएन्ट सबैभन्दा पहिला दक्षिण अफ्रिकामा देखिएको थियो। विशेषज्ञहरुले परिस्थिति बदलिन धेरै समय लाग्ने चेतावनी पनि दिएका छन्।

दक्षिण अफ्रिाका हालै गरिएको एक अध्यनले ओमिक्रोनबाट संक्रमित भएर अस्पताल भर्ना भएका बिरामीमा डेल्टाबाट संक्रमित भएका बिरामीभन्दा कम गम्भीरता देखिएको छ। यसअघि ओमिक्रोनको धेरै म्युटेसनका कारण यो भेरिएन्टलाई लिएर निकै चिन्ता बढेको थियो। यो भेरिएन्टले तीव्रगतिमा फैलिनुका साथै खोपको पूर्ण मात्रा लगाइसकेकाहरु पनि संक्रमित भएका थिए। 

विशेषज्ञहरु ओमिक्रोन कम जोखिमपूर्ण हुनुको एउटा कारण यसले मानिसको फोक्सोमा कम क्षति गर्नु नै रहेको बताउँछन्। 

पाँच फरक–फरक अध्ययनले पनि ओमिक्रोनले डेल्टाको तुलनामा मानिसको फोक्सोमा सजिलै संक्रमण गर्न नसकेको देखाएको छ। यद्यपि यो ताजा तथ्यहरुमा आधारित रहेर अझै अध्ययन गर्न आवश्यक रहेको वैज्ञानिकहरुको ठहर छ। जसबाट यो भेरिएन्ट अन्य भेरिएन्टको तुलनामा कम जोखिमपूर्ण वा हल्का रहेको पत्ता लगाउन सकिन्छ। – एजेन्सी