काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरसकेको नयाँ भेरिएन्ट ओमिक्रोनका कारण विश्वभर फेरि संक्रमण बढ्न सक्ने खतरा अत्याधिक देखिएको चेतावनी दिएको छ। 

डब्ल्यूएचओले विश्वका केही क्षेत्रमा यसको गम्भीर परिणाम देखिन सक्ने चेतावनी पनि दिएको छ। डब्ल्यूएचओका प्रमुख डा टेड्रोसले फेरि एकपटक धनी देशहरुलाई गरिब देशहरुलाई खोप उपलब्ध गराउन अपिल गरेका छन्। उनले कोभिडको खतरा अझै कायमै रहेको पनि बताएका छन्।

नोभेम्बरको सुरुआतमा दक्षिण अफ्रिकामा कोभिडको नयाँ भेरिएन्ट देखिएको हो। यो नयाँ भेरिएन्टको म्युटेसन निकै धेरै रहेको र संक्रमणको खतरा अत्याधिक रहेको बताइएको छ। 

डब्ल्यूएचओले पनि विश्वभरका वैज्ञानिकहरु यो नयाँ भेरिएन्टको ट्रान्समिसनको खतरा कति धेरै छ र कोभिडविरुद्धको खोपमा यसले कस्तो प्रतिक्रिया जनाउँछ भन्ने विषयमा अनुसन्धान गर्न लागिपरेको जनाएको छ। ‘ओमिक्रोनको पत्ता लाग्नुले हामी कति सचेत छौँ भन्ने कुरा प्रस्ट छ’, डब्ल्यूएचओले आफ्नो वक्तव्यमा भनेको छ, ‘हामीमध्ये कतिलाई हामीले कोभिडलाई हराइसकेका छौँ भन्ने पनि लागेको होला, तर वास्तविकता त्यस्तो छैन।’

यद्यपि नयाँ भेरिएन्टबाट हालसम्म संक्रमितको ज्यान गएको एउटा घटना पनि सार्वजनिक नभएको डब्ल्यूएचओले प्रस्ट पारेको छ। – एजेन्सी