काठमाण्डौ । ठूलो(वाणिज्य) बैंकले सानो(विकास) बैंकलाई आफूमा गाभेपछि सबैभन्दा ठूलो समस्या दुईखालको कल्चरलाई मिलाउनु, दुई खालका कर्मचारीलाई मिलाएर एउटै स्पिरिटमा काम गराउनु र सानो तथा ठूलोको सोंचको खाडललाई पुर्नु देखिने गरेको छ । विगतमा वाणिज्य बैंकले साना विकास बैंकलाई गाभ्दा यस्ता धेरै समस्यालाई मिलाउन व्यवस्थापन र संचालक समितिलाई धौ धौ परेको वा परिरहेको उदाहरण हामीसँग धेरै छन् । संभावित यस्तै समस्या नआओस् भनेरै होला ओम डेभलपमेन्ट बैंकलाई प्राइम कमर्सियल बैंकले प्राप्तिका लागि एमओयू गर्न आयोजित कार्यक्रममा दुई बैंकका अधिकारीहरुले सांकेतिक शैलीमा खबरदारी गरे । ठूला बैंकका अधिकारीहरुले त्यस्तो विभेद नहुने भन्दै प्रतिबद्धता समेत जनाए । 

प्राइम कमर्सियल बैंकले सांकेतिक रुपमै ओम डेभलपमेन्ट बैंकलाई समस्या आउन नदिने प्रतिबद्धता जनायो भने ओम डेभलपमेन्टका अधिकारीहरुले समेत अन्य संस्थाको मर्जरमा जस्तो ठूलोसानोको भावना हुन नहुने, ओमका सेयरधनीदेखि कर्मचारीसम्मलाई समान व्यवहार हुनुपर्ने लगायतका बिषयमा सांकेतिक रुपमै प्रस्तुत गरे । 

‘हामीले १८ वर्षदेखि जतन गरी हुर्काएकी छोरीलाई जिम्मा लगाएका छौ ।’ ओम डेभलपमेन्ट बैंकका संचालक समितिका अध्यक्ष सुशीलकुमार गोशालीले भने–‘ हाम्री छोरीले राम्रै माया पाउँछिन् होला भन्ने आशा गरेका छौ । मारे पाप, पाले पुण्य ।’

उनले प्राइम कमर्सियल बैंक तथा त्यहाँका संचालकहरुको व्यवहार मन परेको र आत्मीय लागेका कारण मर्जर संभव भएको बिषयलाई समेत सांकेतिक रुपमै प्रस्तुत गरे । ‘हामीले हाम्री छोरी जिम्मा लगाउन राम्रो घर पाएका छौ । दुलाहा पनि मन पर्यो, घर पनि मन पर्यो ।’ ठट्यौली शैलीमा उनले भने–‘सासू ससूरा त झनै मन पर्यो । हामीलाई यहाँहरुको आतिथ्यता र आत्मीयताले लोभ्यायो, यहीकारण यति चाँडो यो सबै संभव भयो ।’ 

हुन पनि ओम डेभलपमेन्ट बैंकलाई प्राइमले प्राप्ति गर्ने बिषयमा छलफल भएको धेरै दिन भएको थिएन । यी दुवै बैंकका संचालक र व्यवस्थापनमा रहेका उच्च अधिकारीले गुपचुप यस्तरी छलफल अगाडि बढाए कि, छोटो समयमै मर्जरको महत्वपूर्ण सहमति बन्यो । सहमतिलगत्तै एमओयूका लागि उनीहरुले रत्तिभर पर्खिएनन् ।

ओमका अध्यक्षले आफूहरुले हरेक वर्ष सेयरधनीलाई १५ देखि २० प्रतिशत लाभांश  बाँडिरहेको प्रसंग उल्लेख गर्दै भनेका थिए–‘छोरीको विदाई गर्दा हामीलाई नमीठो लाग्छ नै । तर, हामीले यसअघि दिंदै आएको सुख भन्दा बढी सुख(लाभांश) पाएको अवस्थामा हामी पनि खुशी हुन्छौ ।’ 

कार्यक्रममा बोल्दै प्राइम कमर्सियल बैंकका अध्यक्ष उदयमोहन श्रेष्ठले पनि सांकेतिक रुपमै आफ्ना कुरा राखेका थिए । ‘आज हुनेवाला बेहुला र बेहुलीबीच औठी साटासाट गर्ने दिन मात्र हो ।’ उनले भने–‘बिवाह चाहि धुमधामका साथ पछि हुनेछ ।’ 

उनले ओम डेभलपमेन्ट बैंकलाई ‘दुलही’को रुपमा भित्र्याउने र भित्र्याइसकेपछि ‘छोरी’को रुपमा संरक्षण गर्ने घोषणा समेत गरे । दुवै बैंकका अध्यक्षका प्रतिकात्मक  प्रस्तुतीले धेरैको मन तानेको थियो । 

दुवै बैंकका अध्यक्षले सो अवसरमा प्राप्ति सम्बन्धी एमओयूमा हस्ताक्षर गरेका थिए । 

प्राइमका अध्यक्ष श्रेष्ठले राष्ट्रियस्तरको निकै बलियो विकास बैंक, ओम डेभलपमेन्ट बैंकलाई गाभ्न पाउँदा आफूहरु खुशी रहेको बताए । उनले ओम डेभलपमेन्ट गाभिएपछि बन्ने प्राइम कमर्सियल बैंकको पश्चिमाञ्चलमा समेत बलियो पकड बन्ने बताए । ‘विराटलक्ष्मीलाई गाभेपछि हामी पूर्वमा बलियो थियौं, ओम गाभेपछि अब पश्चिममा पनि बलियो बन्छौ ।’ उनले भने–‘प्राप्तिपछि बैंकको शाखा सञ्जाल ११६ पुग्नेछ ।’

उनकाअनुसार ओमलाई  गाभेपछि बन्ने प्राइम बैंकको निक्षेप १ खर्ब भन्दा माथि हुने र कर्जा ८९ अर्ब माथि पुग्नेछ ।

लाभांश छुट्टाछुट्टै कि संयुक्त ?
दुई बैंकबीच सेयर स्वाप रेसियोको बिषयमा कस्तो सहमति भयो भन्ने बिषय खुलाइएको छैन । 

अनौपचारिक कुराकानीको क्रममा बैंकका संचालकहरुले डिडिएबाट आउने रिपोर्टलाई आधार बनाएर तय हुने स्वाप रेसियो मान्य हुने सहमति भएको बताएका छन् । 

मर्जर सकिन केही  महिना लाग्ने भएकोले आर्थिक वर्ष २०७४/७५ को लाभांशबाट सेयरधनीलाई छुट्टा छुट्टै लाभांश घोषणा हुन्छ कि संयुक्त रुपमा ? भन्ने प्रश्नमा एक संचालकले लाभांश अलग अलग नआउने प्रष्ट्याए । ‘हामी विशेष साधारणसभा गरी मर्जरलाई मूर्त रुप दिन्छौ । तर, अबको वार्षिक साधारणसभा सकेसम्म एउटै गर्ने भन्ने हाम्रो योजना हो ।’ ती अधिकारीले भने–‘लाभांश पनि अलग अलग घोषणा हुँदैन, संयुक्त रुपमै घोषणा हुन्छ ।’