काठमाण्डौ । सत्तारुढ नेकपाभित्रको अविश्वास र विवाद पेचिलो बन्दै गएको छ । विभिन्न गुटहरुले ग्रस्त सत्तारुढ दल आपसी अर्घेल्याइँमा अल्झदा सरकार संचालनका कतिपय काम समेत प्रभावित हुन थालेका छन् । 

पछिल्लो समय सबै गुटका नेताहरु आ–आफ्ना लागि सुविधाजनक अवस्था बनाउने दौडधूपमा छन् । 

अध्यादेश प्रकरणपछि सत्तारुढ दलका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अन्य गुट आक्रामक ढंगले प्रस्तुत भइरहेका छन् । विशेष गरी माधव नेपाल र प्रचण्ड गुटले उनलाई पेलिरहेको छ । 

ओली कुनै पनि हालतमा पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद नछाड्ने मनस्थितिमा पुगेका छन् । 

प्रचण्ड–नेपाल समूह कुनै पनि हालतमा ओलीलाई एउटा पदमा मात्र सीमित राख्ने, नमाने सरकारबाट फिर्ता बोलाएरै भए पनि साइजमा ल्याउने रणनीतिमा देखिन्छ । 

आफ्नो नेतृत्वको सरकार ढाल्ने भित्री खेल बुझेका ओलीले यो बीचमा वरिष्ठ नेता माधवकुमार नेपाल, पार्टीका उपाध्यक्ष बामदेव गौतम लगायतलाई समेत विभिन्न प्रलोभनहरु दिइरहेका छन् । 

नेकपाभित्र नेपाल समूह निर्णायक देखिएकोले ओलीले यो समूहका लागि २ वटा मूख्यमन्त्री पद खालि गराउने, मन्त्रीमण्डलमा समान ढंगले नेपाल समूहका नेताहरुलाई सहभागी गराउनेसम्मको तुरुप फालेका छन् । 

ओलीले बामदेव गौतमलाई प्रतिनिधिसभाकै सांसद बनाउने वातावरण तयार गर्ने र केही महिनापछि प्रधानमन्त्री बनाउन सहयोग गर्नेसम्मका आकर्षणका प्याकेज दिएका छन् । 

नेपाल पक्षले प्रधानमन्त्री चलाए पनि अध्यक्ष पद छाड्न भन्दै दिएको दवाबमा ओलीले प्रारम्भमा सकारात्मक संकेत गरे पनि एकाएक यो विषयलाई टारेर बरु चैतमा गर्ने भनिएको महाधिवेशन दशैंअघि सार्ने र नेपाललाई पार्टीको एकल अध्यक्ष बनाउनेसम्मको तुरुप फालेका छन्।

ओलीले आफ्ना विरोधी नेताहरुको रीस साम्य पार्न र आफूविरुद्धको चौतर्फी आक्रमण निस्तेज पार्न फालिरहेका तुरुपले काम गरेको छैन । ओलीको धूर्त कलाको विषयमा जानकारहरुले उधारोमा सहमति हुनसक्दैन भन्दै ठोस कुरा ल्याउन भनिरहेका छन् । 

ओलीको भित्री रणनीति
यहीबीचमा ओलीले विभिन्न प्रलोभन दिंदा पनि नेपाल, गौतम समूहका नेता नमानेपछि आफैंलाई बलियो बनाउने र जस्तोसुकै संकटको सामना गर्ने भित्री रणनीति बनाउन थालेका स्रोतहरु दाबी गर्छन् । 

यसका लागि ओलीले पूर्व माओवादी खेमाका केही सांसदहरुलाई चोर्ने र आफ्नो पक्षमा पारी संसदीय दलमा आफूलाई बहुमतको अवस्थामा पुर्याउने प्रयास गरिरहेका छन् । 

यसका लागि विभिन्न सम्पर्क सूत्रमार्फत ओलीले पूर्व माओवादीका सांसदहरुलाई बालुवाटार बोलाएर विभिन्न प्रलोभन दिने काम भइरहेको उच्च स्रोतले जनाएको छ । 

ओलीको यही प्रयासका कारण पूर्व माओवादी समूहका लेखराज भट्टले प्रचण्ड क्याम्प छाडिसकेका छन् भने रामबहादुर थापा यसअघि नै ओली समूहमा छन् । ओलीले थापा र भट्टमार्फत समेत आफ्नो क्याम्पमा आउनसक्ने सांसदहरुलाई तानेर संसदबाट पुनः एकपटक विश्वासको मत लिने रणनीति बनाएका देखिएको छ । 

हाल संघीय संसदमा नेकपाको १७४ सिट छ । यसमध्ये पूर्व एमालेतर्फ १२१ र पूर्व माओवादीतर्फ ५३ सांसद छन् । पूर्व एमालेतर्फका १२१ मध्ये ओली गुटमा ७८ सांसद छन् । ४३ जना मात्रै माधव नेपाल, गौतम र झलनाथ खनाल गुटमा आबद्ध छन् । संसदीय दलमा बहुमतको अवस्थामा टिकिरहन ओलीलाई कुल ८८ सांसद चाहिन्छ । यसको अर्थ उनले १० सांसद अरुको क्याम्पबाट चोर्नुपर्ने हुन्छ । १० मध्ये माओवादीका २ सांसद ओली गुटमा आइसकेकाले अब ८ जना सांसद जुटाउन ओलीले रातदिन नभनी काम गरिरहेका स्रोतहरु दाबी गर्छन्।

ओलीले यसका लागि आफ्ना सबै सांसदहरुलाई परिचालन गरेका बताइएको छ । काठमाण्डौ बाहिर रहेका सांसदहरुलाई समेत ‘जे पनि हुनसक्ने’ भन्दै बोलाइएको छ । 

ओली निकट एक नेताकाअनुसार संसदीय दलमा बहुमत पुर्याउन सकेको खण्डमा ओलीले राजीनामा दिने, लगत्तै पुनः संसदबाट प्रधानमन्त्रीमा नियुक्त हुने र २ वर्षसम्म टसमस नगरी सरकार चलाउने योजना समेत रहेको छ । संविधानमा एकपटक बनिसकेको सरकारविरुद्ध २ वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाइने व्यवस्था छ । 

बुधबार सचिवालय
यसैबीच, नेकपाका अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच मंगलबार एकघण्टा जति भेटघाट भएको छ । यो भेटका अवसरमा दुवै नेताबीच बुधबा सचिवालय बैठक बोलाउने सहमति बनेको छ । 

सचिवालय बैठकपछि मात्र स्थायी कमिटी बैठक बोलाउने र सबै खालको परिस्थितिको सामना गर्ने ओलीको योजना रहेको छ ।