काठमाण्डौ । सत्तारुढ नेकपाभित्रको संकट अझै पेचिलो बन्न थालेको छ । 

हिजो प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच चलेको केही घण्टा लामो छलफल बिनानिश्कर्ष टुङ्गिएसँगै संकट गहिरिएर जाने विश्लेषण हुन थालेको छ । 

माधव नेपाल पक्षले ओलीले दुईमध्ये एक पद छाड्नुपर्ने अडानलाई वार्ताको बटमलाइन बताएपछि सुरु भएको दुई पक्षबीचको छलफलमा किन सहमति हुन सकेन ? यो अहिले चासोको विषय बनेको छ । 

बिहान बालुवाटारमा माधव नेपाललाई बोलाएर दुई पदमध्ये एउटा पद छाड्ने संकेत गरेका ओलीले आफ्ना ४ सदस्यीय वार्ता टोली पठाएर भने तत्काल दुवै पद नछाड्ने भन्दै नेपाल पक्षलाई फरक खालको प्रलोभन देखाएपछि अवस्था झनै असहज बनेको हो । 

वार्तामा सहभागी नेपाल पक्षका एक नेताका अनुसार ओलीको तर्फबाट केही मुख्यमन्त्री र मन्त्री फेर्ने प्रस्ताव आए पनि त्यो भन्दा महत्वपूर्ण माग तल्लो तहदेखि प्रधानमन्त्रीसम्म लागू हुने गरी एक व्यक्ति, एक पदको प्रस्तावमा ओलीले अन्तिम अवस्थामा असहमित जनाएका छन् । 

ओलीले प्रधानमन्त्री वा पार्टी अध्यक्षको पद छाड्ने मुद्धालाई डाइभर्ट गरी आगामी चैतमा गर्ने भनी निर्णय भएको पार्टीको १० औं महाधिवेशन दशैंअघि नै सार्ने वातावरण मिलाउने तुरुप फालेका बुझिएको छ । 

‘दशैंअघि नै महाधिवेशन गरेर तपाई एकल अध्यक्ष बन्नुहोस् ।’ ओली समूहले वरिष्ठ नेता नेपाललाई गरेको प्रस्ताव उद्धृत गर्दै स्रोतले भन्यो–‘अहिले चाहि मिलेर जाऔं, केही मुख्यमन्त्री र मन्त्री तत्काल परिवर्तन गरिनेछ ।’ 

तर, नेपाल समूहले उधारोमा सहमति नहुने अडान लिंदै ओलीको प्रस्ताव अस्वीकार गरेपछि कुरा मिल्न नसकेको हो । 

ओलीले नेपाल समूहको मागप्रति सहमत रहेका पार्टी उपाध्यक्ष बामदेव गौतमलाई समेत नयाँ तुरुप फालेका छन् । ओलीले बामदेवलाई प्रतिनिधिसभाकै सांसद बनाएर प्रधानमन्त्री बन्न सहयोग गर्ने तुरुप फालेको स्रोत दाबी गर्छ । 

‘राष्ट्रियसभाको सदस्य बन्दा संविधान संसोधन गर्नुपर्ने हुन्छ, त्यो लामो बाटोबाट किन जाने ? तपाईलाई प्रतिनिधिसभाकै सांसद बनाउने वातावरण बनाउँछु ।’ ओलीले गौतमलाई फालेको तुरुप उद्धृत गर्दै स्रोतले भन्यो–‘त्यसपछि तपाई प्रधानमन्त्री बन्नुहोला, हाम्रो पनि सहयोग रहनेछ ।’ 

छलफलका क्रममा ओलीले पठाएका प्रस्ताव ‘कुटिल चाल’ र साबिकको झै ‘काइते शैली’ भएको भन्दै नेपाल समूहका नेता झनै रुष्ट भएका छन् । उनीहरुले ओलीसँग कुरा मिल्न नसक्ने भन्दै अब अगाडि बढ्नुपर्ने सुझाव समेत वरिष्ठ नेतालाई दिएका बुझिएको छ । 

ओली पनि भिड्ने मूडमा
ओलीले पछिल्लो समयमा संसदीय दलमा बहुमत पुर्याउनका लागि अपुग सांसदहरुलाई आफ्नो पकडमा ल्याउने खेल समेत सुरु गरेका छन् । 

उनको प्रयासका कारण तत्कालीन माओवादी निकटका रामबहादुर थापा र लेखराज भट्ट ओली समूहतर्फ ढल्किइसकेका छन् । थप सांसदहरुलाई समेत फकाएर, लोभ्याएर वा अनेकन प्रलोभनमा पारेर आफ्नो गुटमा तान्ने ओली समूहको प्रयास जारी रहेको स्रोत दाबी गर्छ।

ओलीले संसदीय दलमा बहुमतका लागि आफूलाई १० सांसद चाहिने भन्दै यो प्रयास समेत अगाडि बढाइरहेका छन् । 

यसैबीच, आफू निकटका सांसद तथा नेताहरुलाई बालुवाटार बोलाएर ओलीले बाक्लै छलफल गरिरहेका छन् । ती छलफलहरुमा ओलीले अब भिडेरै अगाडि बढ्नुपर्ने भन्दै आफूविरुद्ध उठेका आवाजहरुको डटेर प्रतिवाद गर्न समेत निर्देशन दिन थालेका छन् । 

ओलीले पछिल्लो समय नेपाल पक्षलाई फकाएर आफ्नो पक्षमा पार्ने र प्रचण्डसँगको उनीहरुको सहकार्यमा फूट ल्याउने रणनीति अख्तियार गरेका छन् । नेपाल–प्रचण्ड गठबन्धन फूटाएर फेरि पनि लामो समयसम्म सत्तामा टिक्ने र आगामी महाधिवेशनबाट समेत अध्यक्षमै निर्वाचित हुने ओलीको दाउ छ । 

तर, ओलीको यो रणनीति नेपाल र प्रचण्ड समूहले बुझिसकेका कारण यसपटकको विवाद सहजै साम्य हुने अवस्था चाहि देखिन्न ।