काठमाण्डौ । दुई तिहाई नजिकको बहुमतप्राप्त दलबाट प्रधानमन्त्री बनेका केपी ओलीको कुर्सी धरापमा परेको छ । 

विगत केही दिनदेखिको अनवरत प्रयासले समेत आफ्नो कुर्सी जोगाउन पार्टीका अन्य गुटका नेताहरु तयार नदेखिएपछि अन्ततः नेकपालाई फूटाएरै भए पनि सत्तामा टिकिरहने जुक्ति निकाल्न थालेका छन् । यही क्रममा ओलीले आइतबार बिहान संघीय संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई उनकै निवास बुढानिलकण्ठमा भेट्न भन्दै आफ्नो दूतका रुपमा सुवास नेम्वाङलाई पठाएका छन् । नेम्वाङले देउवालाई ओलीको सन्देश सुनाई सत्ता सहकार्यको प्रस्ताव समेत गरेका सानेपामा आइतबार ३ बजेदेखि सुरु भएको कांग्रेस केन्द्रीय समितिको बैठकमा बताइएको छ । 

ओली र उनका दूतसँगको भेटघाटको अजेण्डाको विषयमा कांग्रेसका केन्द्रीय सदस्यले खुलस्त पार्न सभापति देउवालाई दवाब दिएका थिए । जवाफमा देउवाले ओलीले आफूहरुलाई शक्तिशाली मन्त्रालय दिने गरी सत्ता सहकार्यको प्रस्ताव पठाएको खुलाएका थिए । देउवाले नेम्वाङ उद्धृत गर्दै ओली पार्टी फुटाउन तयार रहेका र पार्टी फुटेपछि पनि कांग्रेसको सहयोगमा आफैं प्रधानमन्त्री रहिरहने र अर्थ, गृह जस्ता शक्तिशाली मन्त्रालय कांग्रेसलाई दिने बताएका छन् । 

देउवाले ओलीको प्रस्ताव पार्टी केन्द्रीय समिति बैठकमा सुनाए पनि अधिकांश नेताहरुले ओलीको सत्ता टिकाउने गरी कांग्रेसले सहकार्य गर्न नहुने सुझाव दिएका थिए । ओली गुटले सत्ता सहकार्य नै चाहेको हो भने प्रधानमन्त्री कांग्रेसले पाउने गरी कुराकानी गर्न सकिने कतिपय नेताहरुले सुझाव दिएका स्रोतले उल्लेख गरेको छ । 

सत्ता सहकार्यका लागि शक्तिशाली मन्त्रालय नै तोकेर ओलीले प्रस्ताव पठाएपछि अब नेकपा फूटबाट नजोगिने र यस्तो बेलामा कांग्रेसले ध्यान दिएर निर्णय लिनुपर्नेमा समेत नेताहरुले जोड दिएका थिए । 

‘कतिपय मुद्धामा ओलीसँगै सति जान सकिन्न ।’ कांग्रेसका एक केन्द्रीय सदस्यले बिजशालासँग भने–‘हामीलाई अधिकतम लाभ हुने गरी आगामी रणनीति बनाउनुपर्ने विषयमा हामीले हाम्रा पदाधिकारी नेताहरुलाई सुझाव दिएका छौ ।’ 

उता, सत्तारुढ नेकपाभित्रको फूट अब टारेर नटर्ने अवस्था बन्दै गएको स्रोतहरु बताउँछन् । पार्टी फूट्नै लागेको भन्दै केही केन्द्रीय सदस्यहरुले केन्द्रीय कमिटी बोलाउन माग गर्दै हस्ताक्षर संकलन अभियान समेत सुरु गरिसकेका छन् । आइतबार अपरान्हसम्म १०० बढी केन्द्रीय सदस्यले केन्द्रीय कमिटी बोलाउने प्रस्तावको पक्षमा हस्ताक्षर गरिसकेका छन् । 

नेकपाभित्रको ओली र प्रचण्ड नेपाल गुटबीच सहमति हुन नसकेकै कारण केही दिनदेखि स्थायी कमिटी बैठक समेत स्थगित छ । सहमति गरी स्थायी कमिटी बैठक अगाडि बढाउने प्रयास भए पनि त्यसले सार्थकता पाउन सकेको छैन । 

प्रचण्ड नेपाल समूहले ओलीले प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक पद छाड्नुपर्ने अडानमा अडिग देखिएको छ भने ओली समेत दुवै पद नछाड्ने चट्टानी अडानमा छन् । यिनै अडानहरुका कारण दुई समूहबीच कुरा मिल्ने अवस्था क्षीण बन्दै गएको छ । तिक्तता दिनहुँ बढ्दै जान थालेपछि दुवै पक्ष अलग अलग पार्टी गठन गरेर अगाडि बढ्ने तयारीमा पुगिसकेका छन् । नेकपाकै प्रभावशाली नेताहरु भन्छन्–‘अब पार्टी औपचारिक रुपमा फुटेको घोषणा हुन मात्रै बाँकी छ । मिल्ने अवस्था एकदमै न्यून बन्दै गइरहेको छ । कुनै चमात्कार भएन भने नेकपा अन्ततः फूट्ने नै भयो ।’