काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सरकारको नेतृत्व छाड्नैपरे नयाँलाई अवसर दिनुपर्ने भन्दै आगामी प्रधानमन्त्रीको रुपमा वामदेव गौतमको नाम अगाडि सारेका छन् । 

नेकपाको केहीबेरअघि सकिएको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले साथीहरुको चाहना मेरो बहिर्गमन हो भने नयाँलाई अवसर दिउँ भन्दै बामदेव गौतमको नाम अगाडि सारेका हुन् । 

'म पार्लियामेन्ट समेत फेस गर्न तयार छु । फेरि पनि साथीहरुले छाड्नैपर्छ भन्नुहुन्छ भने हामीमध्ये धेरैले अवसर पाइसकेका छौ, बामदेवले अवसर पाउनुभएको छैन, उहाँलाई अगाडि सारौं ।' प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै स्रोतले भन्यो-'संसदको कुनै सिट खालि गराउँला, त्यहाँ बामदेवलाई उठाएर चुनाव जिताई संसदमा ल्याएर प्रधानमन्त्री बनाउँला ।' 

त्यसअघि प्रम ओलीले आफू संसदको फेस गर्न समेत तयार रहेको भन्दै अन्य नेताहरुलाई मनोवैज्ञानिक दवाब दिन खोजेका थिए । 

करिब साढे ३ घण्टा चलेको वार्ताको क्रममा नेताहरुबीच घोचपेच र रस्साकस्सी चलेको थियो । 

आफूविरुद्ध पार्टीभित्रबाटै हटाउने षड्यन्त्र भएको र दुवै पदबाट हटाउने षड्यन्त्र रचिएको भन्दै केही आक्रामक शैलीमा प्रस्तुत भएका ओलीले कोरोनाको संक्रमण सकिएपछि माधवकुमार नेपाललाई समेत तेश्रो अध्यक्षको रुपमा ल्याउन सकिने प्रस्ताव गरेका छन् । 

बैठकमा सहभागी एक सचिवालय सदस्यका अनुसार ओलीले गौतम र नेपालको पक्षमा प्रस्ताव गरेजस्तो गरेर प्रचण्डलाई घुमाउरो काउण्टर दिएका थिए । ओलीले गौतमलाई आगामी प्रधानमन्त्री बनाउँ भनेर प्रस्ताव गर्दा प्रचण्डको हाउभाउ परिवर्तन भएको दाबी गरिएको छ । 

प्रचण्ड पनि बैठकमा आक्रामक रुपमा प्रस्तुत भएका थिए । उनले सरकारको नेतृत्वमा रहेर यति धेरै आलोचना हुँदा आफू थिएँ भने नेतृत्व छाडेर अरुलाई अवसर दिन्थेँ भन्दै घुमाउरो ढंगले ओलीलाई पदबाट हट्न आग्रह गरेका थिए । 

धेरै समय प्रचण्ड र ओलीबीचकै घोचपेचमा समय व्यतित भएको थियो। 

बैठकमा केही नरम रुपमा प्रस्तुत भएका माधवकुमार नेपालले पार्टी विधिसम्मत चल्नुपर्ने, सबैसँग सल्लाह गरेर मात्र दीर्घकालीन महत्वका निर्णय गरिनुपर्ने, पार्टीमा एकता कायम गरिनुपर्ने, कुनै पक्षले अर्को कुनै पक्षलाई पेल्ने नियत राख्न नहुने र सकेसम्म चाँडो स्थायी कमिटी बैठक बोलाउनुपर्ने सुझाव दिएका थिए । 

बुधबारको सचिवालय बैठक घोचपेच र आरोप प्रत्यारोपमै समय व्यतीत भएका कारण ठोस निर्णयमा चाहि पुग्न सकेन । 

बैठकपछि संचारकर्मीसँग कुरा गर्दै नारायणकाजी श्रेष्ठले अर्को सचिवालय बैठक बैशाख २० गते पुनः बस्ने निर्णय भएको जानकारी दिए । 

‘आज हाम्रो पार्टीको सचिवालय बैठकमा पार्टी्भित्रको आन्तरिक समस्या, पार्टी एकता सुदृढीकरणको महत्व, सरकार र केही कमरेडहरुले माग गर्नु भएको स्थायी कमिटी बैठक र यससँग जेडिएका विविध पक्षबारे गम्भीर विचार विमर्श भयो र, छलफल जारी छ।’, बैठकपछि प्रवक्ता समेत रहेका श्रेष्ठले भने ।

उनका अनुसार २० बैशाखमा पुनः सचिवालयको बैठक बसेर अहिले देखिएका सबै विषयमा छलफल गर्ने निर्णय भएको छ । ‘यसबीचमा पार्टीको नेतृत्व टिमले अनौपचारिक गृहकार्य अगाडि बढाउँदै यही २० गते पुनः सचिवालयको बैठक बस्ने निर्णय भएको छ। सचिवालयको बैठकले यी सबै विषयमा अहिलेको आवश्यकतासँग मेल खाने, पार्टीलाई एकतावद्ध ढंगले अगाडि बढाउने र जनताले दिएको जनादेशअनुसार सामाजिक आर्थिक रुपान्तरणको प्रक्रियालाई पनि अगाडि बढाउने सन्दर्भमा उपयुक्त निर्णय लिनेछ । र, आवश्यक प्रस्तावहरु तयार गर्नेछ । त्यही बैठकले नै माग भइआएको स्थायी कमिटीको बैठक बारेमा पनि आवश्यक निर्णय गर्नेछ ।’ उनले थपे ।