काठमाण्डौ । प्रधानमन्त्री केपी ओलीलाई अहिले आफ्नै पार्टीभित्रबाट राजीनामा गर्न तीव्र दवाब आइरहेको छ । यति मात्र होइन, उनीमाथि अहिले चौतर्फी घेराबन्दी भएको छ । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेकै बेला नवगठित जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादव अपहरण प्रकरणमा संलग्न ओलीका विश्वासपात्रमाथि कारबाहीको माग गर्दै उजुरी पर्ने भएको छ । 

अपहरणमा संलग्न दोषीमाथि कारबाहीको माग गर्दै उजुरीका लागि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, शरदसिंह भण्डारी, राजेन्द्र महतो लगायतका नेताहरु महानगरीय प्रहरी परिसर काठमाडौँमा पुगेका छन्।

अपहरणको उजुरी दिन आइतबार दिउँसो पार्टीका शीर्ष नेताहरु प्रहरी कार्यालय पुगेका हुन् । 

महानगरी प्रहरी परिसरमा नेताहरु पुगेर उजुरी दर्ताको प्रयास गरिरहेका छन् । 

उनीहरुले ओलीका विश्वासपात्र महेश बस्नेत, किसान श्रेष्ठ र सर्वेन्द्र खनालविरुद्ध अपहरणको मुद्धा दायर गर्न लागेका हुन् । 

केही दिनअघि सरकारले अध्यादेश जारी गरेपछि तत्कालीन समाजवादी फुटाउने योजनाका साथ महेश बस्नेत, किसान श्रेष्ठ र पूर्व आइजीपी खनालले डा. यादवलाई अपहरण गरी काठमाण्डौ ल्याएका आरोप लागिरहेको छ ।