काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सके संसदमा बहुमतको प्रधानमन्त्री बन्ने, नसके संसद विघटन गरी अर्ली इलेक्सनमा जाने तयारी गरेका छन् । 

यही तयारीका साथ उनले पुनः संसदमा विश्वासको मत नलिने भएका छन् । बैशाख २७ गते विश्वासको मत लिने पहिलो प्रयास विफल भएपछि उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले ठूलो दलको संसदीय दलको नेताको हैसियतले पुनः प्रधानमन्त्री नियुक्त गरेकी थिइन् । पुनः प्रधानमन्त्री बनेका उनले ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । तर, यो व्यवस्थामा नगई प्रधानमन्त्री ओलीले संविधानको धारा ७६ को उपधारा ५ अनुसार अगाडि बढ्ने तयारी गरेका हुन् । 

यही उद्देश्यले मन्त्रीपरिषदको केहीबेर अघि सकिएको बैठकले आगामी जेठ ९ गते प्रतिनिधिसभाको अधिवेशन बोलाउने गरी राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । 

यो निर्णयसँगै जेठ ९ गते संसद बैठक बोलाउन प्रधानमन्त्रीले राष्ट्रपतिलाई सिफारिस गर्नेछन् । 

प्रधानमन्त्री ओलीले जान चाहेको धारा ७६(५) मा कुनै पनि संसद सदस्यले बहुमतको आधार पेश गरेमा राष्ट्रपतिले त्यस्तो व्यक्तिलाई प्रधानमन्त्री बनाउने व्यवस्था छ । यदि त्यसो हुन नसकेमा संसद विघटन हुनेछ । संसद विघटनपछि घोषणा हुने चुनावी सरकारको नेतृत्व गर्ने योजनासहित ओलीले यो उपधाराअनुसार अगाडि बढेका दाबी गरिएको छ । 

यसैबीच, प्रधानमन्त्रीले संविधानको धारा ७६ को उपधारा ५ अनुसार सरकार गठनका लागि मार्गप्रशस्त गर्ने निर्णय गराएसँगै संसदमा बहुमतप्राप्त सरकारका लागि निर्णायक मानिएको जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतो बालुवाटार पुगेका छन् । ठाकुर र महतोको आकस्मिक बालुवाटार प्रवेशलाई संभावित सत्ता गठबन्धनको अभ्यासको रुपमा हेरिएको छ ।