काठमाण्डौ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको सपथ खुवाएकी छिन् । 

राष्ट्रपति निवासमा आयोजित एक समारोहका बीच प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको सपथ खाएका हुन् । 

प्रधानमन्त्रीपछि उपप्रधानमन्त्रीको रुपमा ईश्वर पोखरेलले राष्ट्रपतिसँग पद तथा गोपनीयताको सपथ खाएका थिए । 

यस्तै, प्रधानमन्त्री ओलीले पुरानै मन्त्रीहरुलाई दोहोर्याएका छन् । दोहारिएका सबै मन्त्रीहरुले समेत राष्ट्रपतिसँग पद तथा गोपनीयताको सपथ लिएका छन् । 

यस्तै, क्याबिनेटमा दोहोरिएका ३ राज्यमन्त्रीले चाहि प्रधानमन्त्री ओलीसँग पद तथा गोपनीयताका सपथ लिएका छन् । 

हिजो राति राष्ट्रपति भण्डारीबाट प्रधानमन्त्रीमा पुनः नियुक्त ओलीले जनता समाजवादी पार्टी र एमालेकै माधवकुमार नेपाल समूहका केही नेतालाई समेत मन्त्री बनाउन खोजेका थिए । तर, तत्काल त्यो वातावरण नभएपछि हाललाई पुरानै अनुहारहरु दोहोरिएका बताइएको छ । 

केही दिनको कसरतपछि जसपा र एमालेकै नेपाल समूहका केही नेताहरुलाई सरकारमा सहभागी गराइने र मन्त्रीमण्डल पुनर्गठन गर्ने ओलीको योजना रहेको उनी निकट स्रोतले जानकारी दिएको छ ।