काठमाण्डौ । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)सँग केही मन्त्रीहरुलाई विदा गर्ने र थप्ने नयाँ अनुहारहरुमा सहमति हुन नसक्दा आज हुने भनिएको मन्त्रीमण्डल पुनर्गठन पर सरेको छ । 

प्रचण्डसँग आइतबार बिहान बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री तथा नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीले आजै बेलुकासम्म मन्त्रीमण्डल पुनर्गठनको काम सक्ने र भोलि नयाँ मन्त्रीहरुको सपथ गराउने भनेका थिए । तर, दुई शीर्ष नेताबीच केही नाममा सहमति बन्न नसक्दा प्रमले चाहेर पनि अगाडि बढ्ने आँट नगरेका हुन् । 

ओलीले प्रचण्डनिकटका मन्त्रीहरुलाई पनि फालेर नयाँ अनुहार भित्र्याउने प्रस्ताव गरे पनि त्यसमा प्रचण्डले असहमति जनाएका बुझिएको छ । ओलीले आफ्ना प्रिय पात्रहरु ईश्वर पोखरेल, प्रदीप ज्ञवाली लगायतका नेतालाई दोहोर्याउने बताएका थिए । त्यस्तै, पछिल्लो समय ओलीलाई साथ दिएका पूर्व माओवादीका नेताहरु रामबहादुर थापा, लेखराज भट्टलाई समेत निरन्तरता दिने ओलीको प्रस्ताव थियो । 

प्रचण्डले भने रामबहादुर थापालाई विदा दिनुपर्ने अडान लिएका थिए । उनी मन्त्रीमण्डल पुनर्गठन हुँदा थापा नदोहोरिउन् भन्ने चाहन्छन् । 

प्रधानमन्त्रीले प्रचण्डका प्रिय मानिने उर्जामन्त्री वर्षमान पुनलाई समेत विदा गर्ने मन्त्रीको सूचीमा राखेपछि उनी रिसाएका बुझिएको छ । यस्तै, प्रचण्डले यो पटक पनि बुहारी बिना मगरलाई निरन्तरता दिनुपर्ने अडान छाडेका छैनन् । 

यिनै विषयले गर्दा मन्त्रीमण्डल पुनर्गठन केही सरेको ओली निकट स्रोतहरुले दाबी गरेका छन् । 

अब फेरि प्रचण्ड र ओली बसेर नामहरुको विषयलाई फाइनल गरेपछि मात्र मन्त्रीमण्डल पुनर्गठन हुने बताइएको छ । 

ओली भरसक बुधबारअघि नै मन्त्रीमण्डल पुनर्गठनको तयारीमा छन् । बुधबार पार्टी उपाध्यक्ष बामदेव गौतमको अदालती विवादको निक्र्यौल हुँदैछ। त्यसभन्दा अघि नै मन्त्रीमण्डल पुनर्गठन गरी बामदेवलाई मन्त्रीपरिषदमा सहभागी हुने बाटो छेक्ने दाउमा ओली र ईश्वर पोखरेल लगायतका नेताहरु रहेका आरोप लाग्दै आएको छ ।