काठमाण्डौ । केपी शर्मा ओली पार्टी अध्यक्षबाट राजीनामा दिन तयार भएका दाबी गरिएको छ । 

सत्तारुढ दल नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका एक नेताले ओलीले दुई पदमध्ये एक पद छाड्नुपर्ने भनी आफूहरुले राखेको अडान मान्ने संकेत दिएका र यसो हुँदा उनले पार्टीको अध्यक्षबाट राजीनामा दिनसक्ने दाबी गरेका हुन् । 

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सोमबार बिहान एक्ला एक्लै छलफल भएको थियो ।

उनीहरुबीचको छलफलमा माधव नेपालले प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एउटा पद छाड्नुपर्ने भनी राखेको प्रस्तावप्रति ओली केही नरम देखिएका हुन् । ओलीको यो संकेतसँगै बाँकी विषयमा समेत सहमति कायम गर्न नेपाल निवास कोटेश्वरमा दुवै गुटका नेताहरुको छलफल सुरु भएको छ । 

नेपाल र प्रचण्ड पक्षले ओलीसँग प्रत्येक पटकको छलफलमा आफूहरुको बटमलाइन भनेर दुई पदमध्ये एक छाड्नुपर्ने माग उठाइरहेको छ । यो माग पूरा हुने कुनै सकारात्मक अवस्था नरहेसम्म बाँकी विषयमा छलफल गर्नु अर्थहीन रहेको नेपाल पक्षले बताउँदै आएको थियो । 

बटमलाइनको माग पूरा हुने अवस्था नआए वार्तामै नबस्ने अडानमा रहेको नेपाल पक्ष समेत वार्ताका लागि तयार हुनुलाई कतिपयले ओलीबाट त्यसको स्पष्ट संकेत आएको अवस्थाको रुपमा बुझेका छन्।

यसअघि नेपाल पक्षले पार्टी अध्यक्ष पद आफूलाई छाड्न गरेका प्रस्तावमा ओलीले आगामी महाधिवेशनमा त्यसको सुनिश्चितता हुने बताउने गरेका थिए । तर, नेपाल पक्ष उधारोमा सहमति नगर्ने अडानमा निरन्तर कायम रहँदै आएको छ । 

‘ओलीले आफ्ना निकटस्थहरुसँग समेत प्रधानमन्त्री पद नछाड्ने, बरु पार्टी अध्यक्ष छाडिदिने आशय व्यक्त गरेका कुरा आएको छ ।’ ती नेताले भने–‘यसो भयो भने नेकपाभित्रको तत्कालको चरम विवाद साम्य हुन सहज हुनेछ ।’ 

ओलीले यसअघि आफ्ना विश्वासपात्रमार्फत २ वटा प्रदेशका मुख्यमन्त्रीमा नेपाल पक्षलाई ल्याउने, नेपाल पक्षबाट समेत समान हैसियतमा सरकारमा मन्त्रीहरुलाई सहभागी गराउने र सरकारमा बसेर विगतको गल्ती नदोहोर्याउने प्रस्ताव यसअघि नै पुगिसकेको छ ।

यिनै प्रस्तावहरुलाई ठोस रुप दिन नेपाल पक्ष र ओली पक्षका नेताहरुबीच छलफल सुरु भएको हो । आजको छलफललाई दुवै समूहले ‘निर्णायक’ मानेका छन् ।