काठमाण्डौ । केपी ओलीको पुनः सत्तारोहणका लागि महत्वपूर्ण योगदान गरेका जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुर भारतीय दूतावास पुगेका छन् । 

पार्टीका अर्का नेता राजेन्द्र महतोलाई साथमा लिएर केहीबेरअघि उनी लैनचौरस्थित भारतीय दूतावास छिरेका त्यहाँस्थित उच्च स्रोतले जानकारी दिएको छ । 

त्यसअघि ठाकुर र महतो बालुवाटार पुगेका थिए । त्यहाँ उनीहरुले अब गठन हुने मन्त्रीपरिषदको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुराकानी गरेका थिए । सो विषयमा प्रधानमन्त्री ओलीले उनीहरुलाई महत्वपूर्ण मन्त्रालयहरुमा अवसर दिने आश्वासन दिएका दाबी गरिएको छ । 

ओलीसँग छलफल सकेपछि उनीहरु भारतीय दूतावास छिरेका हुन् । त्यहाँ उनीहरुले दूतावासका उच्च अधिकारीहरुसँग छलफल गरिरहेका छन् । 

ठाकुर र महतो दुई दिनअघि समेत भारतीय दूतावास पुगेका थिए । आज ओलीविरोधी गठबन्धनको बहुमतको सरकार गठनको प्रक्रियालाई विफल बनाइसकेपछि पुनः दूतावास प्रवेश गर्नुलाई चासोको साथ हेरिएको छ । 

पछिल्लो समय राजनीतिक वृत्तमा भारत समेत नेपालमा अर्ली इलेक्सन चाहन्छ भन्ने चर्चा हुने गरेको छ । भारतका कतिपय राजनीतिक विश्लेषकहरुले ओलीलाई भारत सरकारको समर्थन रहने दाबी पेश गरिरहेका बेला मुख्य रुपमा ओलीको सत्ता जोगाउने महत्वपूर्ण भूमिका खेलका नेताहरुको दूतावास प्रवेशलाई अझ अर्थपूर्ण रुपमा हेर्न सकिन्छ । 

यदि महन्थ ठाकुर र राजेन्द्र महतोले ओलीलाई साथ नदिएका भए उनी पुनः प्रधानमन्त्रीको रुपमा निरन्तर रहने अवस्था बन्ने थिएन । ठाकुर पक्षले समर्थन गरेको भए कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको बहुमतको सरकार बन्न सक्थ्यो । तर, ठाकुर पक्षले असहयोग गरेकै कारण देउवाको पुनः प्रधानमन्त्री बन्ने सपना चकनाचुर बनेको छ । 

कतिपयले महन्थ ठाकुरले पार्टीका उपेन्द्र यादव पक्षका केही सांसदलाई पनि साथमा लिएर ओलीलाई समर्थन गर्ने र ओली पुनः बहुमतको प्रधानमन्त्री बन्ने दाबी समेत गरिरहेका छन् । तर, बालुवाटार निकट स्रोतले भने ओली समेत अर्ली इलेक्सनकै पक्षमा रहेकोले त्यस्तो दाबी पेश नहुने ठोकुवा गरेको छ ।