काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले सोमबारबाट औद्योगिक क्षेत्रमा हाल कायम लोडसेडिङ अन्त्य भएको घोषणा गरेकोमा नेपाल उद्योग वाणिज्य महासंघले त्यसको स्वागत गरेको छ ।

बैशाखबाट लागू हुने गरी औद्योगिक क्षेत्रको लोडसेडिङ अन्त्य गर्ने यसअघिको घोषणा सफल रुपमा कार्यान्वयन गर्न उर्जामन्त्री तथा मन्त्रालय, नेपाल विद्युत प्राधिकरणलाई सफलता प्राप्त भएको भन्दै महासंघले खुशी व्यक्त गरेको छ ।

गार्हस्थ प्रयोगमा यसअघि नै प्राधिकरणले प्रभावकारी व्यवस्थापन गरिसकेको छ भने औद्योगिक क्षेत्रमा हाल गर्दै आएको दैनिक तीन घण्टासम्मको लोडसेडिङ अन्त्यको घोषणाबाट अब मुलुकभित्र उद्योग व्यवसाय विस्तार, भएका उद्योग व्यवसायको निर्वाध संचालन, उत्पादन प्रवद्र्धन तथा नयाँ औद्योगिक विस्तारमा सघाउ पुग्नुका साथै समग्रमा मुलुकको आर्थिक व्यवसायिक विकास, लगानी आकर्षणमा समेत मद्दत पुग्ने विश्वास महासंघले व्यक्त गरेको छ ।

महासंघले नयाँ आउने उद्योगहरु र क्षमता विस्तार गर्न चाहने उद्योगधन्दाहरुका लागि आवश्यक विद्युत उनीहरुले मागेका बखत सहज रुपमा उपलव्ध गराइदिने वातावरण समेत तयार गरिदिने आग्रह गरेको छ । साथै प्राधिकरणले विद्युत प्रसारणमा गुणस्तरीय विद्युत प्रवाह गर्नेतर्फ पनि विशेष ध्यान दिनुपर्नेमा समेत जोड दिइएको छ ।