काठमाण्डौ । भदौको तुलनामा असोजका लागि ८ वटा वाणिज्य बैंकहरुले ब्याजदर बढाएर प्रकाशित गरेका छन् ।
कुल २० मध्ये ८ वटा वाणिज्य बैंकले ब्याजदर बढाएपछि व्यक्तिगततर्फ मुद्दति निक्षेपको ब्याजदर नै ११ प्रतिशत माथि पुगेको छ।
व्यक्तिगततर्फ मुद्दति निक्षेपको ब्याजदर भदौको तुलनामा १.०६४ प्रतिशतसम्मको बढोत्तरी भएपछि यसको असर आइतबारको सेयर बजारमा समेत देखिएको छ । बैंकहरुले मुद्दति निक्षेपको ब्याजदर बढाएर ११ प्रतिशत माथि पुर्याएपछि लगानीकर्ताको मनोबल कमजोर भएसँगै बजार राताम्मे हुन पुग्यो ।
तर, अस्तित्वमा रहेका २० वाणिज्य बैंकहरुकै औसत ब्याजदरको अवस्था हेर्ने हो भने भदौको तुलनामा असोजमा ब्याजदर घटेको देखिन्छ ।
कुल २० मध्ये ८ वटा बैंकले ब्याजदर बढाएका छन् भने ४ वटाले स्थिर राखेका छन् । यस्तै, बाँकी ८ वटाले भदौको तुलनामा ब्याजदर घटाएका छन् ।
ब्याजदर बढाउने, स्थिर राख्ने र घटाउनेहरुको इण्डष्ट्री एभरेज(औसत) हेर्दा भदौको तुलनामा मुद्दति निक्षेपको ब्याजदर असोजमा ०.०७७ प्रतिशतले घटेको छ ।
भदौमा व्यक्तिगत मुद्दति निक्षेपतर्फ न्यूनतम ब्याजदरको औसत ९.७२२ प्रतिशत थियो । यस्तै, अधिकतमको औसत ब्याजदर १०.३२६ प्रतिशत रहेको थियो ।
असोजमा व्यक्तिगत मुद्दतितर्फ न्यूनतम औसत ब्याजदर ९.५६७ तथा अधिकतम औसत ब्याजदर १०.२४९ प्रतिशत रहेको छ ।
यसरी हेर्दा औसत व्यक्तिगत मुद्दति निक्षेपतर्फ भदौको तुलनामा असोजमा ०.०७७ प्रतिशतले ब्याजदर घटेको छ ।
लगानीकर्ताहरुले औसत ब्याजदरको घटबढ भन्दा पनि बैंक विशेषले बढाउने ब्याजदरतर्फ मात्र बढी ध्यान दिएका कारण समेत ८ वटाले बढाएको ब्याजदर मात्र बढी चर्चामा आएको विश्लेषकहरु बताउँछन् । ४ वटाले स्थिर राखेको र बाँकी ८ वटाले ब्याजदर घटाएको विषय छायाँमा पर्दा समग्र सेयर बजार प्रभावित बन्न पुगेको उनीहरुको दाबी छ ।
अर्थमन्त्रालयका विज्ञहरु समेत ८ वटा बैंकले ब्याजदर घटाएको र ४ वटाले स्थिर राखेको विषयले मिडियामा प्राथमिकतामा नपाउँदा लगानीकर्ताहरुको मनोबल कमजोर बनाएको दाबी गरे ।
अर्थमन्त्रीको सचिवालयमा कार्यरत एक अर्थविदले बिजशालासँग भने–‘औसतमा ब्याजदर घटेको छ । तर, अर्थमन्त्री ज्यूको स्पिरिटअनुसार सबैले घटाउनुपर्नेमा ८ वटाले बढाए । यो चाहिँ राम्रो भएन ।’
गभर्नर र बैंकरसँग छलफल हुँदै
ती विज्ञका अनुसार नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारी र बैंकरहरुसँग अर्थमन्त्रीले छलफल गर्न खोजिरहेका छन् । ‘मन्त्री ज्यूले एकपटक सबैसँग छलफल गर्न खोज्नुभएको छ । २–३ दिनमा हुन्छ होला ।’ उनले भने –‘अर्थमन्त्री ज्यूले ब्याजदर बढाउने बैंकका सीइओहरुलाई फोन गरेर समेत असन्तुष्टि पोखिसक्नु भएको छ । उहाँ ब्याजदर नघटेको विषयमा गम्भीर देखिनुहुन्छ ।’
यसैबीच, ब्याजदर बढाएकामध्ये २ बैंकका सीइओले भने आफूहरुलाई अर्थमन्त्रीको फोन नआएको दाबी गरे ।
11 minutes ago
34 minutes ago
54 minutes ago
58 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
3 hours ago
3 hours ago